विराटनगर । नेकपा एमालेमा लामो समयदेखि चलिरहेको विवाद उत्कर्षमा पुगेको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगिरेहेकै बेला आज संस्थापन र अल्पमत पक्षको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।
अन्तिम समयसम्म एकताका लागि प्रयत्न गर्ने निर्णय गरेको एमाले केपी ओली पक्षले दुई दिनदेखि स्थगित गर्दै आएको स्थायी कमिटीको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठकले बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । भर्चुअल माध्यमबाट हुने केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।
ओली समूहले फागुन २८ पछि गठन गरेको स्थायी समितिको बैठक बोलाएको हो । बैठकमा रामबहादुर थापा सहित १९ जना सहभागी हुनेछन् । नेपाल समूहले भने त्यसलाई मान्यता दिन नसकिने बताउँदै आएको छ । ओली समूहको बैठकले यस अघि स्पष्टिकरण सोधिएका नेपाल समूहका थप १२ जना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने तयारी गरेको बुझिएको छ ।
केही दिन यता एमालेका दोश्रो पुस्ताका नेताहरु पार्टी एकताको वातावरण बनाउन निरन्तर वार्तामा थिए । उनीहरुकाबीचको वार्ताले सार्थक परिणाम ननिस्किएको र अब पार्टी एक भएर बढ्न नसकिने निष्कर्श करिव दुवै पक्षले निकालेको बताइएको छ ।