विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी मुलुकका समकक्षीहरुलाई पत्राचार गरी कोभिड विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको विषय विवादमा परेको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई, नेकपा एमालेका उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले समाजिक सञ्जाल मार्फत राष्ट्रपतिको पछिल्ला क्रियाकलापको आलोचना गरेका हुन् ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रपतिलाई भिख माग्न लगाएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरे ।
भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।
‘कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’
यसैगरी नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पनि सेरेमोनियल राष्ट्रपतिले कार्यकारी प्रमुख झैं कार्य गरेको भन्दै आलोचना गरेका छन् । उनले लेखेका छन् ‘प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भनी प्रश्न उठाएका छन् ।’