विरामीलाई निःशुल्क सिटामोल बाँड्दै औषधी व्यवसायी संघ

विराटनगर । ज्वरो र टाउको दुख्दा खाने ‘पारासिटामोल’ औषधी नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले विरामीलाई निःशुल्क बाँड्न थालेको छ ।

विराटनगरसहित प्रदेश १ मा प्यारासिटामोल औषधी चरम अभाव भएर विरामीहरू भौतारिरहेको बेला संघले आवश्यक पर्ने विरामीलाई फार्मेसी मार्फत निःशुल्क औषधी बाँड्न थालेको हो ।

सिटामोल आभाव भइरहेको बेला संघले आफ्ना सदस्य रहेको औषधी पसल मार्फत आवश्यक पर्ने विरामीलाई चिकित्सकले सिफारिस गरे अनुसार ज्वरो र टाउको दुखाइको बेला खाने सिटामोल वितरण गरेको संघका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।

आवश्यक पर्ने विरामीलाई निःशुल्क सिटामोल बाँड्न भन्दै संघले सोमबार विराटनगर महानगरपालिका भित्रको १० वटा औषधी पसलमा सिटामोल बाँडेको छ । ‘औषधी अभाव भइरहेको बेला सामाजिक उत्तरदायित्व अन्तरगत रहेर हामीले आफ्ना सदस्य रहेको औषधी पसलमार्फत विरामीलाई निःशुल्क सिटामोल वितरण गरेका छौं,’ ढकालले भने, ‘पहिलो चरणमा विराटनगरको अस्पताल अगाडिको फार्मेसीहरूमा सिटामोल दिएका छौं । हामीले बाँडेको सिटामोल औषधी पसलले आवश्यक पर्ने विरामीलाई निःशुल्क दिनेछन् ।’

संघले विराटनगरको रानीस्थित न्यू आन्नद मेडिकल हलमा, न्यूरो अगाडिको सृष्टि मेडिकल हल, हस्पिटल चौकमा रहेको रामकृष्ण फार्मेसी, विराट नर्सिङ्ग होम अगाडिको जनहित फार्मेसी, पुष्पलालचौकस्थित डिआर फार्मेसीमा ५ सय पिस सिटामोल वितरण गरेको छ ।

यसैगरी बुढीगंगास्थित विराट मेडिकल कलेज अगाडिको सुप्रिया औषधी पसल, नोबले अगाडिको संस्कृति फार्मेसी, तीनपैनीचौकस्थित जुगनु फार्मेसी र हाटखोला चौकस्थित सुजन फार्मेसीमा संघले सिटामोल दिएको हो । संघले दिएको यी फार्मेसीदेखि आवश्यक पर्ने विरामीलाई निःशुल्क सिटामोल लिन पनि आग्रह गरेको छ ।

‘अहिले सिटामोल नपाएर विरामीका आफन्तहरू भौतारिरहेका छन्,’ संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले भने, ‘हामीले केही औषधी जोहो गरेर सामाजिक उतरदायित्व अन्तर्गत विरामीलाई निःशुल्क सिटामोल बाँड्न औषधी पसललाइ दिएका हौं ।’ विरामीको आवश्यकता अनुसार सिटामोल थप पनि गरिने संघले जनाएको छ । विराटनगरपछि मंगलबार मोरङको अन्य ठाउँमा रहेका फार्मेसी मार्फत विरामीलाई सिटामोल वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

विराटनगरका दश वटा फार्मेसीमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष तथा प्रवक्ता ढकाल, सचिब हरिराज रेग्मी, सदस्यहरूमा प्रकाश धिमाल र सरिता चौधरी उपस्थित भएर सिटामोल वितरण गरेका थिए ।

विराटनगरसहित प्रदेश १ मा केही दिनयता पारासिटामोलको चरम अभाव देखिएको छ । लागत मूल्य पनि नउठ्ने भन्दै औषधी उत्पादन गर्ने कम्पनीले प्रयाप्त मात्रमा उत्पादन नगर्दा सिटामोल अभाव देखिएको हो । यसअघि संघले फन्टलाइनमा रहेर खटिएका सुरक्षाकर्मी र संचारकर्मीहरूलाई पनि स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

सोमबार, १७ जेठ, २०७८, रातीको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर