विराटनगर । पोखरामा बिहीबारदेखि अचानक अक्सिजन अभाव देखिएको छ । अक्सिजन नपाएकै कारण बिहीबार राति सुत्केरी सहित छ जनाको ज्यान गएको छ ।
हाइफ्लोअक्सिजन दिएर उपचार भइराखेका बेला अक्सिजन सकिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा उपचाररत एक जना सुत्केरीको मृत्यु भएको हो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताए । अक्सिजन अभाव भएपछि आफैं अक्सिजन किन्न उद्योगमा जाँदा पनि नपाएको र फर्किदाँ बिरामीको मृत्यु भइसकेको आफन्तहरुले बताएका छन् ।
अस्पतालले अक्सिजन प्लान्ट नभएको र उद्योगमा भरपर्नु पर्दा दुर्घटना भएको बताएको छ । उद्योगले सम्झौता गरे अनुसार अक्सिजन आपुर्ति नगरेपछि बिरामीको ज्यान गएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।