खोप आयातको अनुमति निजी क्षेत्रलाई दिन सरकारको ध्यानाकर्षण

विराटनगर । नयाँ भेरिएन्टसहितको महामारी नियन्त्रणका लागी आवश्यक कोेरोना भाईरस विरुद्धको खोप आयातको अनुमति दिन निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।

बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले खोप आयातको अनुमति प्रदान गर्न माग गरेको हुन् । महामारी नियन्त्रण र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको अन्त्यका लागी खोप आयातको अनुमति निजी क्षेत्रलाई दिनुपर्ने उनीहरुको भनाई छ ।

खोप आयातको अनुमति माग गर्दै चारवटै संस्था गत बैशाख २५ गते मात्रै प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री र प्रदेश १ का मुख्यमन्त्री समक्ष अनुरोध गरेका थिए । तर सरकारले हालसम्म निजी क्षेत्रको माग सम्बोधन नगरेपछि बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना महामारीको अन्त्यका निम्त्ति आवश्यक खोपको व्यवस्था गर्न सरकारले आफ्ना कुटनितिक र राजनितिक संयन्त्रको परिचालन गनुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । उनले निजी क्षेत्रका कर्मचारी र श्रमिकलाई पनि सहज रुपमा खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध हुनुपर्ने जिकिर गरे ।

यस्तै संस्थाहरुले भने देशको अर्थतन्त्र चलायमान बनाईराख्नु साथै आपुर्ति श्रृङ्खलालाई निरन्तरता प्रदान गर्न निजी क्षेत्रका कर्मचारी तथा श्रमिकलाई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अनुरोध समेत गरेका छन् ।

बुधबार, १२ जेठ, २०७८, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर