विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण २४ घण्टायता मृत्यु हुनेको संख्यामा कमी आएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टायता ५ महिला र ५ पुरुष गरी १० जनाको मृत्यु भएको छ ।
हिंजो सार्वजनिक तथ्यांकमा भने २४ घण्टामा ९ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको थियो । हिंजोको तुलनामा आज मृतकको संख्या आधाभन्दा कम भएको हो । यो तथ्यांकसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३६ महिला र ५७८ पुरुष गरी ८१४ जना पुगेको छ ।
यसैबीच आज मात्रै प्रदेशमा ८९८ संक्रमित थपिएका छन् भने ३५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । हाल पनि सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ ।