मोरङ । उनी बाबुको निधनको शोकमा थिए । ११ दिनदेखि आशौच बारेर बसेका थिए । तर, मंगलबार राती उनी आफैंले यो धर्तीमा अन्तिम स्वास लिए, कारण थियो उनले कतै उपचार पाएनन् ।
ती अभागी नागरिक थिए मोरङ बेलबारी–२ का ६० वर्षका रंगलाल दुलाल । जसले प्रदेश १को राजधानी सहर विराटनगरमै कतै उपचार पाएनन् । एक से एक ठूला अस्पताल भएको शहरमै उनले डाक्टरको मुखै नदेखी ज्यान गुमाउन पर्यो । शोकमाथी शोक थपिएको दुलाल परिवारमा यो घटनाले अर्को बज्रपात भएको छ ।
विराटनगरका अस्पतालहरुले भर्ना गर्न नमान्दा उनले उपचार नपाइ ज्यान गुमाउनु परेको छ । हरेक विरामीले उपचार सेवा पाउने प्रवन्ध गरिएको सरकारी दाबी दोहोरिएका बेला सर्वसाधारण भने उपचारसमेत नपाइ ज्यान गुमाउन बाध्य छन्।
उनका बुबाको मृत्यु भएको ११ दिन भइसकेको छ । मध्यरातमा अचानक बिरामी भएपछि परिवार तथा आफन्तले उनलाई विराटनगरका अस्पतालमा पुर्याएका थिए । अस्पतालहरुले भर्ना नलिएपछि उनलाई घर ल्याइएको र घरमै मृत्यु भएको छिमेकी माधब निरौलाले बताए ।
उनलाई विराटनगरको लाइफगार्ड, विराट टिचिङ, नोवेल मेडिकल कलेज, मोरङ सहकारी र विराटनगर अस्पताल लगिएको थियो । भेन्टिलेटर खाली नभएको भन्दै अस्पतालले गेटबाटै फिर्ता पठाएको मृतकका परिवारले बताएका छन् ।
दुलाललाई अक्सिजनको कमी देखिएको थियो । मध्यरातमा अस्पतालमा पुर्याउँदा आइसियु समेत नभएको भन्दै फर्काइदिएको बिरामी लिएर गएका लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका एम्बुलेन्स चालक केशब सुवेदीले बताए ।
यता मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने आफुलाई यस विषयमा कुनै जानकारी वा गुनासो नआएको बताए । बिरामीको उपचार नगर्ने अस्पतालहरुलाई कानूनी कारबाही गरिने उनले चेतावनी दिए । मृत्यु हुने दुलाल वर्तमान सरकारका संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रका हुन् ।
वडाध्यक्ष घनश्याम गौतमले हाम्रोमतसँग कुरा गर्दै मधुमेह र उच्च रक्तचापका विरामी दुलालको उपचार नपाएरै मृत्यु भएको बताए ।