विराटनगर । करिब दुई सय कोरोना संक्रमितको उपचार गरिरहेको विराटनगरको नोबेल मेडिकल कलेजमा अक्सिजन अभाव भएको छ ।
नोबेलमा सप्लाई गर्ने अक्सिजन उत्पादन गर्ने उद्योगको उत्पादन रोकिएपछि अक्सिजन अभाव हुँदा अस्पतालका विरामी जोखिममा परेका छन् ।
अस्पतालमा भर्ना भएका सबै सङ्क्रमितलाई अक्सिजन ‘सपोर्ट’मा उपचार गरिरहरकेो बताउँदै नोबेलका निर्देशक डा.राजेश नेपालले अक्सिजन नपाएको विषयमा बिरामीका आफन्तलाई जानकारी गराएको बताएका छन् ।
अक्सिजन अभाव भएको भन्दै बिरामी निकालेर अन्यत्र उपचारका लागि लैजान आफन्तलाई जानकारी दिइसकेको नोबेलले जनाएको छ । नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पथीभरा र मोरङको बूढीगङ्गामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएकोमा दुबै उद्योगमा समस्या भएर उत्पादन बन्द भएपछि समस्या भएको हो ।
नोबेलका प्रबन्धक नारायण दाहालले अस्पतालका लागि अक्सिजन आपूर्ति रोकिएपछि नयाँ संक्रमितको भर्ना लिन छाडिएको बताए । बुधबार बिहानबाट नयाँ बिरामीलाई भर्ना लिन छाडेको बताउँदै उनले अहिले १७१ जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिएका छन् । नोबेलको आईसीयूमा ६३, भेन्टिलेटरमा २ र हाईफ्लो अक्सिजनमा ११० जनाको उपचार भइरहेको बताइएको छ ।
उद्योगको इन्जिनमा मङ्गलबार बिहानबाट समस्या आएको भन्दै पाथीभरा अक्सिजन उद्योगको उत्पादन बन्द भएको छ । उसले नोबललाई दैनिक १२० सिलिन्डरसम्म अक्सिजन पठाउने गरेको थियो ।
अस्पतालका प्रबन्धक दाहालका संक्रमितको लागि एक दिनमा ३६० सिलिण्डर चाहिन्छ । अस्पतालकै आफ्नो उत्पादन १८० सिलिण्डर रहेको बताइएको छ । विभिन्न उद्योगमा धाएर सय सिलिण्डर भेला पारेको र अब ८० सिलिण्डर म्यानेज हुँदा एक रातलाई पुग्ने उनले बताए । आजको रातलाई अस्पतालमा भएका विरामी नपठाउने तर नयाँ विरामी भर्ना नलिने उनले बताए ।
प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। संक्रमणसँगै माग बढेपछि धान्न समस्या भइरहेको उद्योग सञ्चालकको भनाइ छ ।