मोरङमा निषेधाज्ञाको समयावधि ६ दिन थप

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए । उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।

‘हामीले यसपटक तीन वटै जिल्लाको निषेधाज्ञामा एकरुपता कायम गर्ने प्रयास गरेका छौं, उनले भने’, ‘अब मोरङमा पनि सुनसरी र झापा जस्तै निषेधाज्ञा जारी गरिन्छ । तीनवटै जिल्लामा समान समयावधिका लागी निषेधाज्ञा थप गरिन्छ ।’

मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । गत बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि जेठ ११ गते मङ्गलबार समाप्त हुँदैछ ।

 

सोमबार, १० जेठ, २०७८, साँझको ०५:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर