विराटनगर । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सुनसरीको दुहबी नगरपालिकाले १५ शैयाको नगर अस्पताल र ४५ शैयाको आईसोलेसन सञ्चालनमा ल्याउने भएको छ ।
नगरपालिकाले यही जेठ ९ गतेदेखि वडा नं. ८ स्थित जयकाली कन्फेक्सनरीको पुरानो बिस्कुट फ्याक्ट्रीमा आधारभुत नगर अस्पताल र आईसोलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले पछिल्लो समय नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको जोखिम उच्च भएसँगै गतवर्ष नै निमार्ण सम्पन्न भएको अस्पतालमा आवश्यक सेवा सुविधा थप गरि पुनः सञ्चालनमा ल्याउन लागिएको जनाएको छ । कोरोना संक्रमितहरुको उपचार निम्त्ति निर्मित आईसोलेसनमा नगरपालिकाले प्रत्येक बेडमा पर्याप्त अक्सिजन, ईन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिमिटर र २४ सै घण्टा चिकित्सकीय जनशक्तिको प्रत्यक्ष निगरानी रहने व्यवस्था गरेको छ । बिजुली, बत्ती, खानेपानी, शौचालय र सरसफाईको पनि उचित प्रबन्ध मिलाईएको नगरपालिका प्रमुख वेदनारायण गच्छदारले बताए । उनले अस्पतालका लागी आवश्यक पर्ने फेस शिल्ड, ह्याण्ड ग्लब्स, अक्सिमिटर, थर्मोमिटर र मास्क लगायतका आधारभुत स्वास्थ्य सामाग्रीहरु सारडा गु्रपले उपलब्ध गराउने आश्वासन समेत प्राप्त भएको जानकारी दिए ।
यस्तै आईतबारदेखि सञ्चालनमा आउने आधारभुत नगर अस्पतालबाट पनि नगरबासीले २४ घण्टे ईर्मेजेन्सी सेवा, स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपचार र औषधी सेवा, १५ शैयाको ईन्डोर सेवा, प्रयोगशाला, ई.सि.जी तथा भिडियो एक्स–रे सेवा र परिवार नियोजन तथा गर्भवती जाँच लगायतका सेवाहरु प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार गुणस्तरीय सेवा प्रवाहका निम्त्ति अस्पतालमा १ जना बिशेषज्ञ र ३ जना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीहरुको व्यवस्था गरिएको छ ।
तर हाल सञ्चालन हुन गईरहेको आईसोलेसन सेन्टर सहितको अस्पताल भने अस्थायी प्रकृतिको रहेको दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले बताए । उनले दीर्घकालीन सेवा प्रवाह हुने प्रकृतिको स्थायी अस्पताल निमार्णका लागी मन्त्रालयबाट करिब २० करोडको योजना स्वीकृत भईसकेको जानकारी दिए ।
‘मन्त्रालयबाट योजना स्वीकृत भईसकेको छ । तर कोरोना महामारीका कारण निमार्ण कार्य अघि बढाउन सकिएको छैन’, उनले भने ‘कोरोना महामारीको जोखिम न्युनीकरण भएसँगै वडा नंं ११ स्थित भलुवा खेल मैदानको पश्चिमपट्टी अस्पताल निर्माणको कार्य सुरु हुन्छ ।’
आईतबारदेखि सञ्चालनमा आउने आईसोलेसनमा भने गम्भीर प्रकृतिका संक्रमितको उपचार गर्न नसकिने बिषयलाई नगरपालिकाले प्रमुख चुनौतीको रुपमा लिएको छ । यस बिषयमा पनि आवश्यक पहल भईरहेको नगरपालिकाले जनाएको छ । जेठ ६ गतेसम्म दुहबी नगरपालिकामा भने कोरोना संक्रमितहरुको संख्या १ सय २१ पुगेको छ । जसमा १५ जना संक्रमणमुक्त भएका छन भने १ जनाको ज्यान गएको छ ।