काठमाण्डौ । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा विज्ञप्ति प्रकाशित गरी नेता नेपालले घटनाको यथार्थ पत्ता लगाउन सबै पक्षलाई आग्रह गरेका हुन् ।

नेताद्वय चढेको जिप २०५० साल जेठ ३ गते पोखराबाट भरतपुर जाँदै गर्दा चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने दासढुंगामा दुर्घटना हुँदा मारिएका थिए ।

उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

उनलृ नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालले उल्ल्ेख गरेका छन् । उनले विगतका गल्ति सच्याएर हिड्ने प्रण गरेमात्र मदन आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताएका छन् ।