एमालेका यी २८ सांसद मतदानमा अनुपस्थित

काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका छन् ।

संसदीय दलको ह्वीप उल्लंघन गर्दै वरिष्ट नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित २० जना प्रत्यक्ष र ८ जना समानुपातिक सांसद मतदानमा अनुपस्थित भएका हुन् ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसद रहेकोमा प्रधानमन्त्रीले ओलीले ९३ जनाबाट मात्र विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाल–खनाल पक्षका ८ जना सांसद भने उपस्थित भएर मत दिएका छन् ।

सो समूहले ओलीले आफ्ना माग सुनुवाई नगरेको भन्दै बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो । त्यसअघि राजिनमाको तयारी गरेका उनीहरुले केहि समय पर्खने भन्दै विश्वासको मत नदिने निर्णय गरेका थिए ।

ओलीलाई प्रत्यक्ष निर्वाचित सांसदहरु नेपाल र खनालसहित योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, भीमवहादुर रावल, दिपकप्रकाश भट्ट र सुरेन्द्र पाण्डे अनुपस्थित भएकोले मत दिएनन् । यस्तै बैठकमा समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने पनि बैठकमा अनुपस्थित रहे ।

विश्वासको मत प्राप्त नगरेपछि ओली सरकार संविधान अनुसार ढलेको छ । अब नयाँ सरकारको प्रक्रिया सुरु हुनेछ ।

सोमबार, २७ बैशाख, २०७८, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर