ओलीलाई प्रचण्डको प्रश्नः यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गर्दै कुन नैतिकताले विश्वासको मत मागरेको भन्ने प्रश्न गरे ।

‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ? प्रचण्डले प्रश्न गरे । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका रहेको बताए ।

ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाउँदै प्रचण्डले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि त प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने प्रश्न रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पनि प्रतिनिधिसभा फेरि विघटन गर्ने अभिव्यक्ति दिएको बताए ।

विगतमा प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको दाहालको भनाइ थियो । अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक नलागेको र नाटकीय लागेको प्रचण्डको भनाइ थियो । नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत माग्नका लागि अधिवेशन बोलाएकोले आशंका लागेको उनको भनाइ थियो ।

बजेट अधिवेशन बोलाउनुपर्ने बेलामा यो अधिवेशन बोलाएर कतै संवैधानिक प्रक्रिया छल्न खोजेको हो कि भन्ने आशंका लागेको प्रचण्डको भनाइ थियो । उनले संविधानमा यसरी अधिवेशन बोलाउने व्यवस्था नरहेको भन्दै प्रधानमन्त्रीले अपनाएको प्रक्रिया लोकतान्त्रिक र संविधानसम्मत नरहेको बताए ।

ओली आफैंले अविश्वास गरेको संसदले उनलाई विश्वासको मत नदिने भन्दै प्रचण्डले ओली बाहेक सबैलाई विश्वासको मतको विपक्षमा मतदान गर्न आह्वान गरे ।

सोमबार, २७ बैशाख, २०७८, दिउँसोको ०३:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर