लोड हुँदैछ...

मेनु

अन्तर्वार्ता

‘बालशिक्षाका उपलब्धि बिग्रने जोखिम बढ्यो’

‘बालशिक्षाका उपलब्धि बिग्रने जोखिम बढ्यो’

चीनको बुहानबाट फैलिएको भनिएको कोरोना भाईरसका कारण विकासका सबै पूर्वाधारहरू प्रभावित हुँदा यसबाट झनै अछुतो रहन नसकेको क्षेत्र शिक्षा हो । कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र हितमा अभूतपूर्व जोखिम सिर्जना भएको छ । विशेषगरि सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा यसले ठूलो असर पुर्‍याएको छ । कोरोना महामारीको जोखिमका बिच अबको शैक्षिक भविष्य कस्तो हुनेछ ? भावी रणनीति र चुनौतीहरू के-कस्ता छन ? शैक्षिक गतिविधिलाई कसरी निरन्तरता दिन सकिन्छ ? लगायतका विषयमा केन्द्रित रहेर आज हामीले विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ हाम्रोमत दैनिकका लागी राकेश कर्णले गरेको कुराकानीको सम्पादित अंश:

कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा कस्तो असर परेको छ ?

विद्यालय बन्द भएका कारण रोगको संक्रमणमा कस्तो प्रभाव पर्दछ भन्ने बारे पर्याप्त प्रमाण नभएपनि बन्द विद्यालयका कारण बालबालिकाको सुरक्षा र शिक्षण सिकाईमा ठूलो असर परेको छ । पछिल्ला दशकमा बालशिक्षाको क्षेत्रमा हाँसिल गरिएका उपलब्धिहरू गुम्नुका साथै अवस्था पहिलेको भन्दा झनै बिग्रन सक्ने जोखिम बढेको छ । सामुदायिक विद्यालयमा प्राप्त हुने स्वास्थ्य सेवाबाट समेत उनीहरू वञ्चित भएका छन् । यसको असर दीर्घकालीन हुनसक्छ । त्यसैले विद्यालय पुनःसुचारू भएसँगै विद्यालयमा स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुनसक्छ । राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विद्यालय पुनःसुचारू गर्ने निर्णय लिँदा शिक्षा, जन–स्वास्थ्य र आर्थिक तथा सामाजिक पक्षहरूमा गरिएको तथ्यपरक विश्लेषणका आधारमा बालबालिकाको सर्वोत्तम हित तथा समग्र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।

वैकल्पिक शिक्षण सिकाई पद्धतिको प्रयोग कस्तो रहयो ?

वैकल्पिक शिक्षण सिकाई पद्धतिको माध्यमबाट पठनपाठनलाई निरन्तरता दिने प्रयास भयो । त्यसले खासै उपलब्धि हासिल गर्न सकेन । गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि अनलाइन कक्षा फलदायी साबित हुन सकेन । उनीहरु पठनपाठनबाट विमुख नै रहे । उल्टै मोबाईल, ईन्टरनेट र ल्यापटपको नाममा सामाजिक विकृति बढ्यो । रेडियो, टेलिभिजन र अनलाईबाट भएका पठनपाठन प्रभावकारी देखिएन । अभिभावकको गुनासो पनि सुन्नुपर्‍यो ।

यो अवस्था कहिलेसम्म रहन्छ भन्ने कुनै टुंगो नभएका कारण अबको शिक्षण सिकाईलाई कसरी अगाडि लैजानु पर्छ ?

यो अवस्था कहिलेसम्म रहन्छ, यकीनका साथ भन्न सकिँदैन । बैशाख मसान्तसम्म त भनिएको छ । तर त्यसपछि के हुन्छ । नयाँ भेरिएन्टसहितको कोरोना महामारीका कारण निजी विद्यालयहरुले प्रश्नपत्र नै घर लग्न दिएर वार्षिक परीक्षा सम्पन्न गर्ने गराउने तयारी भईरहेको छ भन्ने विषयहरु पनि सुनेका छौं । भोलिका दिनमा समाजले यसलाई कसरी बिश्लेषण गर्छ ? शिक्षा क्षेत्रमा यसको प्रभाव के रहन्छ ? भन्ने चुनौतीहरु पनि छन् । हामी सामुदायिक विद्यालयहरुले परीक्षा स्थगन गरेर बसेका छौं । महानगरसँग पनि हामीले आवश्यक छलफल र समन्वय गरिरहेका छौं । अबको समयमा विद्यालय पुर्नसुचारू गर्दा विद्यालयमै बालबालिकालाई सिकाई र तिनको समग्र हेरचाह लगायत स्वास्थ्य, पोषण, मनोसामाजिक सहयोग, खानेपानी, स्वच्छता तथा सरसफाईका क्षेत्रमा पहिलेभन्दा राम्रो हुने गरि व्यवस्था मिलाउनु पर्छ । निकै लम्बिएको विद्यालय बन्दका कारण कैयौं विद्यार्थीहरू आफ्नो सिकाईको यात्रामा पछाडि परिरहेको अवस्थामा निकै कठिन भएता पनि विद्यालय पुनः सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्छ ।

नीतिगत सुधारको आवश्यकता छ की छैन ?

नीतिगत सुधार गर्नैपर्छ । स्वास्थ्य सम्बन्धि आपतकालीन परिस्थितिमा विद्यालय बन्द गर्ने र पुनःसुचारू गर्ने नीति परिमार्जन गरिनुपर्छ । सीमान्तकृत तथा विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकामा समान पहुँचको वातावरण सिर्जना गर्न र दुर–शिक्षाको अभ्यासलाई सुदृढीकरण तथा स्तरीकरण गर्ने विषयमा नीतिगत व्यवस्था गर्नुपर्छ ।

छुटेको सिकाई कसरी व्यवस्थापन हुनसक्छ ?

छुटेका शिक्षण सत्रहरू पुनःप्राप्त गर्नका लागि विशेष अभ्यासहरूको विकास गर्ने तयारी छ । सिकाईका विधिको सुदृढीकरण तथा दूरशिक्षा प्रणालीको माध्यमबाट मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिने योजना छ । विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित र गरिब तथा विपन्न वर्गका बालबालिकाहरुलाई पनि समेटने गरि सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्ने विषयमा हाम्रो फोकस हुनेछ ।

अब शिक्षा क्षेत्रको भबिष्य के होला ?

शिक्षा क्षेत्रको अबको भविश्य अनिश्चित छ । यस्तो नै हुन्छ भनेर दाबी गर्न सकिँदैन । शिक्षा क्षेत्र धेरैपछि धकेलिएको छ । यसलाई पुनः ट्रयाकमा ल्याउन धेरै कसरत गर्नुपर्ने हुन्छ । भाबी चुनौतीहरु धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।