विराटनगर । केही दिनयता सामाजिक सञ्जालहरुमा रगत आवश्यक परेको सूचनामूलक स्टाटसहरु बाक्लै आउने गरेका छन् । सहजै उपलब्ध हुन सक्ने ‘ए पोजेटिभ’, ‘ओ पोजेटिभ’ जस्ता रक्त समूहका रगत रक्तसञ्चार केन्द्रमा अभाव भएपछि सामाजिक सञ्जालमार्फत रगतको खोजी गर्ने क्रम बढेको हो ।

शल्यक्रिया गर्नुपर्ने बिरामी र सुत्केरी गराउनु पर्ने गर्भवती महिलालाई सुत्केरी गराउनु अघि नै चिकित्सकले रगतको प्रवन्ध गर्न लगाउँछन् । कतिपय बिरामीलाई तत्काल रगत आवश्यक पर्ने हुन्छ । रक्तसञ्चार केन्द्रमा रगत स्टक नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ ।
सुनसरीको प्रकाशपुरका अशोक कार्की बुधबारदेखि नै रगतका लागि दौडधुप गरिरहेका छन् । बिहीबार साँझ उनकी श्रीमतीको प्रसूति गराउनुपर्ने छ । ‘डाक्टरले दुई पिन्ट रगत तयारी अवस्थामा राख्नु भनेका छन्’ कार्कीले भने ‘हिजोदेखि प्रयास गरिरहेको छु तर रगत जुटेको छैन ।’ उनले भने ‘अस्पतालमा पनि ब्लडबैंक रहेछ तर त्यहाँ रगत छैन । गाउँघरमा रगतका लागि साथीहरुलाई भनिरहेको छु तर निकै गाह्रो भयो ।’

झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा यतिबेला निषेधाज्ञा लागेको छ । अस्पतालहरुमा कोभिडका बिरामीहरुको चाप बढेको छ । समस्या नभइ अस्पताल नआउन सार्वजनिक सूचनाहरु प्रवाह भइरहेका छन् । सामाजिक गतिविधि पनि घटेको छ । सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रमहरु आयोजना गर्थे तर कोभिडको संक्रमण बढेसँगै त्यो क्रम पनि रोकिएको छ । जसले गर्दा रगतको आपूर्तिमा समस्या भएको छ ।

रक्तदान गर्न चाहनेहरुले पनि अस्पताल पुगेर रगत दिन डर मान्ने अवस्था आएपछि बिरामीहरुलाई समस्या परेको हो । मोरङ लेटाङका रमेश लिम्बुको बुवाको हाडको अप्रेसन गर्नुपर्ने छ । कोसी अस्पतालका चिकित्सकले दुई ‘पिन्ट’ रगत खोज्न भनेका छन् । उनी पनि रगतकै खोजीमा लागेका छन् ।

विराटनगर स्वास्थ्य उपचारका लागि प्रदेश १ कै हबको रुपमा चिनिएको छ । यहाँ उपचारका लागि विभिन्न जिल्लाहरुबाट बिरामीहरु आउँछन् । विराटनगरको नोबेल मेडिकल कलेज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रक्तसञ्चार केन्द्रको छुट्टै शाखा छ । तर, विराटनगरमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्त सञ्चार केन्द्र र अस्तालहरुमा रहेका शाखा कार्यालयमा रगतको स्टक रित्तिएको छ ।

रगतको स्टक थोरै रहेको र सकिन लागेको जानकारी दिँदै वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानस्थित रक्तसञ्चार केन्द्रका इन्चार्ज सुवास सिंहले रक्तदानका लागि निर्धारित कार्यक्रमहरु पनि कोभिड र निषेधाज्ञाका कारण स्थगित भएको जानकारी दिए । उनले माग अनुसार रगत आपूर्ति गर्न नसकेको स्वीकार गरे । उनले आपतकालिन अवस्थाका लागि केही मात्रामा रगत मौज्दात राखेको भएपनि सर्वसाधारणलाई माग अनुसार आपूर्ति गर्न भने नसकेको बताए । सिंहले भने ‘रक्तदानका लागि मानिसको प्रवन्ध गर्ने बिरामीहरुसँग मौज्दात भएको रगत साटेर अभावमा काम चलाइरहेका छौं ।’

विराटनगरस्थित रक्त संचार केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले रक्त संचार केन्द्रमा रगतको अभाव भएको र त्यसबाट बिरामी र रक्त सञ्चार केन्द्र दुवैले हैरानी व्यहोर्नु परिरहेको बतए । विशेषगरी दुर्घटनामा पर्ने, अत्याधिक रक्तश्राव भएका, प्रसूति, मुटु,क् यान्सर तथा मृगौलाका बिरामीहरुलाई तत्काल रगत आवश्यक पर्ने भएकोले त्यसका लागि रक्त सञ्चार केन्द्रहरुले केही परिमाणमा रगत मौज्दात गरेका हुन्छन् । विराटनगरमा त्यो परिमाण पनि न्यून रहेको छ ।

विराटनगरमा ३० पिन्ट मात्र मौज्दात रहेको बताइएको छ । विराटनगरमा पछिल्लो तीन सातामा एउटा मात्र रक्तदान कार्यक्रम आयोजना भएको छ । नेकपा एमाले माधव नेपाल समूहको युवा संघले रगत अभावको अवस्था महशुस गरेर बुधबार रक्तदान कार्यक्रम गरेको थियो । जहाँबाट ५१ पिन्ट रगत संकलन भएको थियो ।