आमा बचाउने पुस्तक ‘आमा’ विमोचित

विराटनगर । सचेतनाको कमीका कारण मृत्युको मुखमा पुगेका गर्भवती महिलालाई लक्षित गरी स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले लेखेको पुस्तक ‘आमा’ आज बिमोचन गरियो ।

डाक्टर साहले लेखेको उक्त पुस्तकमा गर्भको तयारी वा योजना, गर्भावस्था, प्रसूती र सुत्केरी अवस्थाका बारेमा घर, परिवार, समाज र स्वयं महिलाले ध्यान दिनुपर्ने कुराहरुबाट खुलस्त लेखिएको छ । नेपाल पत्रकार महासंघ मोरङको हलमा जन्म दिनको अवसर पारेर विराटनगरकी उपमेयर इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, डाक्टर साहलगायले आज पुस्तक विमोचन गरिएको हो ।

‘खासगरी एउटी महिलाले आमा बन्ने क्रममा के कस्ता शारीरिक वा मानसिक परिवर्तनबाट गुज्रनुपर्छ भनेर पुस्तकमा लेखिएको छ’, डाक्टर साहले भने, ‘आमा बन्न चाहनेहरुका लागि पनि यो पुस्तक एक मार्गदर्शन हुनसक्छ ।’

साहले विभिन्न संचारमाध्याममा आफ्नो अनुभव, ज्ञान र जीवन–भोगाईलाई निरन्तर जस्तो लेख्दै आएका छन् । एकातिर चिकित्सा पेशामा छन् भने अर्कोतिर लेखकको रुपमा पनि चिनारी बनाएका छन् ।

पुस्तकमा चिकित्सकिय हिसाबले के गर्ने, के नगर्ने, कुन अवस्था सामान्य, कुन अवस्था जटिल भनेर बुँदागत रुपमा चर्चा गरिएको छ ।

गर्भावस्थामा हुने विभिन्न शारीरिक जटिलता र त्यसको समाधानबारे पनि पुस्तकमा उल्लेख छ । मधुमेह, उच्च रक्तचापदेखि जटिल अवस्थामा कस्तो उपचार अपनाउने भनी जानकारी दिइएको छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञले लेखेको यो पुस्तक आमा बन्न चाहनेहरुको लागि उपयोगी हुनसक्छ ।

‘गर्भावस्था एवं प्रसूतिको अवस्थामा विभिन्न समस्या झेल्ने गरेका छन्, महिलाहरुले । मातृ मृत्युदरको अवस्था उत्तिकै छ । यी संभावित जटिलताहरुलाई केही हदसम्म भएपनि रोक्न पुस्तक लेखेको हुँ,’ डा. शाहले भने ।

विराटनगर महानगपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष संजीव खनाललगायतले पुस्तक विमोचन गरेका हुन् । पुस्तकको मूल्य ५१ रुपैयाँ रहेको छ । पुस्तकलाई लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको हो ।

गर्भवती हुनु मानव जीवनचक्रको सामान्य प्रक्रिया हो। यो कुनै विमारी वा दुर्घटना होइन तर गर्भको राम्रो व्यवस्थापन गर्न नसकिएका कारण अझै पनि धेरै महिलाहरु तनावमा रहने र कति महिलाहरुको आमा बन्ने क्रममा मृत्युसमेत हुने गरेको छ। कुनै रोग नलाग्दै अनि २० वर्ष पनि नपुग्दै केवल आमा बन्ने चाहनाले नेपालका प्रतिलाख जन्ममा २ सय ३९ आमाहरु मृत्युवरण गर्न बाध्य भएका छन्।

काठमाडौंमा यो पुस्तक काठमाडौं मेडिकल कलेज सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज फार्मेसीमा उपलब्ध हुने र विराटनगरमा मैनाली पुस्तक पसलमा उपलब्ध हुने डाक्टर साहले जानकारी दिए ।

मङ्गलबार, १४ बैशाख, २०७८, दिउँसोको ०४:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर