विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी अस्पतालहरूले सङ्क्रमितको उपचारका लागि छुट्टै कोरोना उपचार केन्द्र सुरु गरेका छन् ।
पछिल्लो समय प्रदेश १ को राधजानी विराटनगरसहित अन्य जिल्लाहरूमा संक्रमण बढेपछि अस्पतालहरूले बन्द गरिएको कोभिड अस्पतालहरू पुन: संचालनमा ल्याउन थालेका हुन् । विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले छुट्टै कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् ।
नोबेल मेडिकल कलेजले १५० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको जनाएको छ । यस्तै विराट मेडिकल कलेजले एक सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई राख्नका लागि १० बेडको आइसियू पनि सुरु गरिएको छ । आइतबारबाट नोबेलले उपचार केन्द्र सुरु गरेको हो । अस्पतालमा पहिलो दिन नै ७ जना बिरामी भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजले वैशाख १० गतेबाट सङ्क्रमितका लागि १०० बेडको छुट्टै उपचार केन्द्र सुरु गरेको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार तीन दिनमा नै ३४ जना सङ्क्रमित भर्ना भएका छन् । तीमध्ये ७ जना आइसियूमा छन् । अस्पतालका सबै बेड अक्सिजनसहितका छन् ।
कोरोना महामारीको पहिलो फेजमा छुट्टै अस्पताल सञ्चालन गरेको न्युरो अस्पताल विराटनगरले पनि छुट्टै आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको छ । अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेका अनुसार केही दिनभित्र ५० बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालन हुनेछ ।
उपचार केन्द्र सञ्चालन गरेको भवन मर्मत गरिरहेको र उपकरण पनि स्थानान्तरण गरिएकोले केहि दिन लागेको न्युरोले जनाएको छ । अस्पतालले सञ्चालन गर्ने बेडहरूमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र राखिने जनाएको छ ।
प्रदेश सरकारले सञ्चालन गरिरहेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ सय ८० बेड छन् । तीमध्ये ३२ बेडमा बिरामी छन् । अस्पतालमा अक्सिजन र भेन्टिलेटरसहितका बेड त्यति मात्र रहेकोले उनीहरुलाई मात्र भर्ना लिएको अस्पतालले जनाएको छ ।
निजी अस्पतालमा उपचार गर्दा शुल्क बिरामी आफैँले तिर्नुपर्छ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ । विराटको कोभिड उपचार केन्द्रमा आइसियूमा राखेर उपचार गरेको विरामीको दैनिकको खर्च ३५ हजार रुपैयाँ लाग्ने गरेको छ । जनरल बेडको ८ हजार ५ सय रुपैयाँ पर्छ ।
नोबेलमा पहिलो दिन नै मृत्यु
विराटनगरस्थित नोबेल मेडिकल कलेजले कोभिड अस्पताल सञ्द्धचालन गरेको पहिलो दिन नै एक संक्रमितको मृत्यु भएको छ । कोभिड अस्पताल सञ्चालनमा आएको दिन आइतबार नोबेलमा विराटनगर घर भएका ४० वर्षीय गुप्ता थरका पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
आइतबार अस्पताल भर्ना भएका ती संक्रमितको स्वासप्रश्वासमा समस्या रहेको थियो । उपचारको क्रममा आइतबार राति उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।