कोभिड अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

विराटनगर । सरकारले तोकेको सुविधा उपलब्ध नगराएपछि विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरको कारण सङ्क्रमितको संख्या बढिरहेको बेला उपचारमा खटिरहेका डाक्टर र नर्स सरकारले तोकेको सुविधा पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार केन्द्रमा भर्ना भएका ३२ जना बिरामी जोखिममा परेका छन् । उपचार केन्द्रमा नियमित अक्सिजन दिनुपर्ने विरामी भर्ना गरिएको छ ।

उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र ५ जना डाक्टर कार्यरत रहेकोमा एकजना नर्सबाहेक अन्य सबै काम छाडेर आन्दोलनमा उत्रिएका छन् । गत भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई प्रदेश १ सामाजिक विकास मन्त्रालयले कात्तिकयताको तलब र सुविधा दिएको छैन ।

एक महिनाको बिदापछि पुनः हाजिर भएका उनीहरूले राज्यले तोकेअनुसारको सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताएका छन् । राज्यले तोकेको न्यूनमत सुविधा माग गर्दा पनि सम्बोधन नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको भनाइ छ । ‘महामारीमा खटिँदा हाम्रो न्यूनतम आवश्यकता पनि पूरा गर्न प्रदेश सरकारले चासो दिएन’ एक स्वास्थ्यकर्मीको भनाइ छ ।

कोभिडको पहिलो फेजमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सामाजिक विकास मन्त्रालयले होटल स्टर्न स्टारमा क्वारेन्टाइन बनाएको थियो । तर, यस पटक घरबाटै धाउनुपर्ने बाध्यता रहेको र स्वास्थ्यकर्मीलाई खाना पनि राम्रो नदिएको उनीहरूको गुनासो छ ।

सोमबार, १३ बैशाख, २०७८, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर