तस्करीको कपडा बरामद प्रकरण : भन्सार एजेन्टलाई जोगाउने प्रयास

विराटनगर । भन्सार छली गरेको कपडा बोकेको पिकअफ भेन नियन्त्रणमा लिएको विराटनगर भन्सार कार्यालयले चार दिन बितिसक्दा कारवाही नगरी छानविन टोली बनाएको छ ।

कपडा बोकेको गाडी भन्सारले नियन्त्रणमा लिएपछि भन्सार एजेन्ट र राजनैतिक दलका नेताहरूको दबावका कारण छानविन टोली गठन गरेर जोगाउन चलखेल गरेको आशंका छ । आइतबार विराटनगर भन्सार कार्यालयका अधिकृत तेजमणी काफ्लेको नेतृत्वमा छानविन टोली बनाइएको छ । काफ्ले नेतृत्वको टोलीले दिएको अनुसन्धान प्रतिवेदनको आधारमा निर्णय गर्ने विराटनगर भन्सारका प्रमुख शिव भण्डारीको भनाइ छ ।

छानविन समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने जनाएको छ । विराटनगर भन्सार एजेन्टका प्रतिनिधि विराटनगर–६ सरौचिया घर भएका राजकुमार रौनियाले भारतीय नम्बर प्लेटको बीआर २८ जीए २६०६ नम्बरको पिकअफ भेनमा ल्याएको कपडा गत बिहीबार राति भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पहुँचवाला रौनियारले ल्याएको कपडा भन्सारले नियन्त्रणमा लिएपिछि कपडा र गाडी छुटाउन चलखेल सुरू भएको थियो ।

‘रौनियारको कपडा र गाडी नियन्त्रणमा लिएपछि छुटाउन शक्तिकेन्द्रको दैनिक फोन आउने गरेको छ,’ भन्सार स्रोतले भन्यो, ‘त्यही भएर कारवाहीमा ढिलो भएको हो ।’ सम्पूर्ण कागजी प्रक्रिया मिलाएर दबाव आउने गरेको स्रोतको भनाइ छ ।

रौनियारले एउटै बिलबिजकमा दोहोरो मालवस्तु भित्र्याएको सूचना थाहा पाएपछि भन्सार प्रमुख शिव भण्डारीले आकस्मिक चेकजाँच गरेका थिए । भन्सार एजेन्टमार्फत प्रज्ञापनपत्र र सम्पूर्ण कागजी प्रक्रिया मिलाएर उनलाई जोगाउन अहिले चलखेल भइरहेको भन्सार स्रोतको भनाइ छ ।
सेटिङ्ग मिलाउन माहिर रौनियारले त्यस काममा भन्सार एजेन्टहरू प्रयोग गरेका छन् । विराटनगर भन्सार एजेन्ट संघका सचिब कृष्णबहादुर थापालाई नियन्त्रणमा लिएको कपडा छुटाउन सक्रिय छन् । लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरुलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून बिजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापनपत्रको भरमा उनले भित्र्याउने गरेको बताइन्छ ।

रौनियारले भने सम्पूर्ण प्रक्रिया पूरा गरेर कपडा ल्याएको दाबी गरेका छन् । ‘मैले ५ लाखको कपडा ल्याएको हो,’ उनले भने, ‘भन्सारले तोकेअनुसार राजस्व तिरेको छु । तर, काम गर्ने क्रममा मूल्यांकनमा तलमाथि हुनसक्छ ।’

सोमबार, १३ बैशाख, २०७८, बिहानको १०:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर