विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिने घटना बारम्बार दोहोरिँदै आएको छ । यसपटक यो धन्दामा संलग्न रहेको अभियोगमा कर्मचारीससहित १० जना प्रहरी फन्दामा परेका छन्, जसले घटनाको रहस्य प्रहरीलाई बताएका छन् ।
विश्वविद्यालयको इन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमेस्टरको भौतिकशास्त्र विषयको परीक्षा बैशाख ३ मा हुँदैथियो । परीक्षा हुनुभन्दा एक दिन अगाडि नै प्रश्नपत्र परीक्षार्थीको हातमा पुगिसकेको थियो । कसरी ?
प्रहरीका अनुसार पक्राउ परेका पियुका कर्मचारी कोमलप्रसाद गौतम कार्यालय सहायक हुन् । उनी विज्ञान तथा प्रविधि शाखासँगै प्रश्नपत्रको फोटोकपी गर्ने काममा संलग्न थिए । ३ वैशाखमा फिजिक्सको परीक्षा थियो । त्यसदिन बनेको प्रश्नपत्र बोकेर गौतम घर गएका थिए ।
उनले रातभरी फोटोकपी पेपरमा लिखित रुपमा प्रश्नपत्र हस्तलिखित नै उतारे । त्यसका लागि सहयोगी पनि राखेका थिए । त्यसपछि फोटोकपी गरेर परीक्षा हुनुभन्दा अघि सम्झौता अनुसार गोपाल कार्कीलाई प्रश्नपत्र दिएको अनुसन्धानबाट देखिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘प्रश्नपत्र कार्कीले पाएपछि अन्य विद्यार्थीहरूलाई सामाजिक सञ्जालको मध्यमदेखि प्रश्नपत्र पठाएको देखिएको छ ।’ प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रश्नपत्र आउट गरेको आरोपमा पियुका कर्मचारी विराटनगर ८ का ४४ वर्षीय कोमलप्रसाद गौतमसहित विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षीय गोपाल कार्की, रुपेन्देहीको तिलोत्तमा नगरपालिका १२ का ३० वर्षका विजय पोखरेल, गोर्खाको भिमसेन गाउँपालिका १ का ३२ वर्षे मिनप्रसाद भट्ट, गण्डाकी गाउँपालिका ३ का ३१ वर्षे भरत पन्त, सोही गाउँपालिकाका २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का २९ वर्षका नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन – ७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भइ भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षीय महेश यादवलाई प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ परेकामध्ये कार्की विद्यार्थी नेता हुन् । उनले पियुका कर्मचारी गौतमलाई मोटो रकम दिने मौखिक सम्झौता गरेर प्रश्नपत्र आउट गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘कार्की पियूका पूर्व विद्यार्थी पनि हुन्,’ मोरङ प्रहरीका एसपी सन्तोष खड्काले भने, ‘कर्मचारी गौतमलाई मोटो रकम दिने सहमति गरेपछि प्रश्नपत्र आउट गरेको अनुसन्धानबाट खुलेको छ ।’ कार्कीले पनि पक्राउ परेका इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको खुलेको छ ।
उनीहरूले कति जनासँग पैसा लिएर एकमुष्ट रकम लिए भन्ने खुलिसकेको छैन । अहिले अनुसन्धानको क्रममा रहेकोले पछि खुल्दै जाने एसपी खड्काले बताए । पक्राउ परेकामध्ये ८ जना इन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरका विद्यार्थी हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै लगातार बाहिरिँदै आएको छ । यसअघि दुई वर्ष अगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । त्यसबेलाको घटना अनुसन्धान नभइ गुपचुप भएर सेलायो ।
३ वैशाखमा परीक्षा हुनुभन्दा अगाडि प्रश्नपत्र बाहिरिएको खबर बाहिर आएपछि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्राडा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए भने प्रश्नपत्र आउट भएको घटनालाई अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए । मोरङ प्रहरीले अनुसन्धानको लागि मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वको छुट्टै टिम गठन गरेको थियो । उक्त टिम अनुसन्धानमा जुट्यो । सुरूवातमा प्रहरीले महेश यादवलाई पक्राउ गरि अनुसन्धान सुरू गरेको थियो । यादवलाई पक्राउ गरेपछि प्रश्नपत्र आउट गर्नेको सञ्जाल बाहिर आयो ।
‘अनुसन्धानको क्रममा प्रश्नपत्र आउट गर्न गिरोहको मुख्य नाइके काठमाडौं बस्ने गरेको खुलेपछि प्रहरी निरीक्षक नेतृत्वको टोली काठमाडौं हानियो,’ मोरङका एक प्रहरी अधिकृतले भने, ‘प्रश्नपत्र आउट गर्ने कार्कीसहित ८ जना विद्यार्थीलाई काठमाडौदेखि शनिबार पक्राउ गरी विराटनगर लिएर आएको हो ।’ कर्मचारी गौतमलाई आइतबार विराटनगरदेखि पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।
अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तो छ सजाय
पक्राउ परेका १० जनालाई मोरङ प्रहरीले ‘शिक्षा ऐन’ अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरू गरेको छ । उक्त मुद्दा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता हुन्छ । शिक्षा ऐन अनुसार प्रश्नपत्रको गोपनीयता भंग गरेको पुष्टि भएको खण्डमा कसुरको मात्रा हेरी १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।