काठमाडौं । नेपालले क्रिकेटको इतिहासमा अर्को नयाँ जितको रेकर्ड कायम गरेको छ । नेपालले आज सम्पन्न बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि हात पार्दै नयाँ रेकर्ड कायम गरेको हो ।
नेपालले आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित भएको बताइएको छ ।
टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३ विकेट गुमाइ २ सय ३८ रन बनाएको थियो । जबाफमा नेदरल्यान्ड्स भने १७ दशमलव २ ओभरमा ९६ रनमै अल आउट भयो ।
नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको हो । नेपालले पछिल्लोपटक घरेलु मैदानमा ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेको थियो ।
नेपालका लागि करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले ३ ओभरमा ११ रन खर्चे । कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चेका थिए । नेदरल्यान्ड्सका माथिल्लोक्रमका दुई ब्याट्सम्यान टोबाइस भिसे र बास डे लिडलाई नेपाली फिल्डरले रनआउट गरे ।
यसअघि नेपालबाट कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याएका थिए । प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो तर्फबाट उच्च स्कोर बनाउन सफल भए । ५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।
यस्तै आसिफ शेखले २ छक्का प्रहार गर्दै १६ रन, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन, कुशल मल्लले २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाउन सफल भए ।