विराटनगर । बलात्कार जस्तो जघन्य अपराधका घटना पनि गाउँमै ‘मिलापत्र’ गरेर गुपचुप पार्ने प्रयास गर्ने एक व्यक्तिसहित बलात्कार आरोपी पक्राउ परेका छन् ।

मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटनामा संलग्न ४५ वषीृ राजेन्द्र सरबरिया र मिलापत्र गराउन खोज्ने पर्शुराम सरबरिया पक्राउ परेका हुन् ।

घटना विवरण अनुसार फागुन ६ गते ४ बजेको समयमा जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरबरियाले घरनजिकको मकैबारीमा लगेर बालिकालाई बलात्कार प्रयास गरेका थिए । ‘मामाको घरमा गएर हजुरआमाको घरतर्फ आउँदै थिएँ । बाटोमा राजेन्द्र सरबरियासँग भेट भयो । एक्कासी केही नभनी मेरो मुख थुनेर केही बोल्न नदिइ मलाई बोकेर मकैबारीमा लगेर लडाउनुभयो । जवरजस्ती गर्न लाग्दा म त्यहाँबाट भागेर हजुरआमाको घरमा आएको हुँ’ पीडित बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

बालिकामाथि सरबरियाले बलात्कारको प्रयास गरेपछि हजुरआमाले गाउँले गुहारेको बताइएको छ । उहाँले जहदा गाउँपालिका १ का शानदेव सरबरिया र पर्शुराम सरबरियासँग हारगुहार गर्दा उनीहरूले घटना गाउँमा मिलापत्र गराउनुपर्ने भन्दै पीडित परिवारलाई एक सातासम्म प्रहरी कार्यालय जान दिएका थिएनन् ।

न्याय नपाउने भएपछि पीडित बालिकाकी हजुरआमाले गाउँका खट्रबहादुर गुरुङको सहयोगमा इलाका प्रहरी कार्यालय रानी विराटनगरमा १२ फागुनमा उजरी दर्ता गराएको प्रहरीले जनाएको छ । प्रहरीमा उजुरी दर्ता गराएको तीन दिनपछि इप्रका रानीले जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा राजेन्द्रलाई फागुन १४ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई भारतदेखि पक्राउ गरेर ल्याएको हो ।

बलात्कार प्रयासको घटना गाउँमा मिलापत्र गराएको आरोपमा पर्शुरामलाई पनि प्रहरीले पक्राउ गरेको छ भने अर्को घटना मिलाउन खोज्ने शानदेव फरार छन् । प्रहरीले उनको पनि खोजी तीव्र बनाएको रानी प्रहरी विराटनगरका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।

‘बालिकालाई बलात्कारको प्रयास गरेको घटनाको पीडितले उजुरी दिएपछि अहिले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ थापाले भन्नुभयो, ‘घटनामा प्रतिवादी राजेन्द्रले बलात्कारको प्रयास र पक्राउ परेका अर्का प्रतिवादी पर्शुरामले घटना मिलापत्र गराउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’ पक्राउ परेका दुबै जनालाई मोरङ अदालतमा जवरजस्ती करणी उद्योगमा म्याद थप गरि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

बलात्कारको प्रयास गर्ने राजेन्द्र र घटना मिलाउने प्रयास गर्ने शानदेव र पर्शुराम राजेन्द्रका आफन्त हुन् । त्यही भएर उनीहरूले जघन्य अपराधको घटनालाई गाउँमा मिलाउन लागिपरेको खुलेको छ । बालिका बलात्कार भएको घटना प्रहरीमा लिएर गएको भन्दै स्थानीय र पीडितका आफन्तलाई जवरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी र उनका आफन्तले धम्की दिने गरेका छन् ।

पीडित र उनका परिवारलाई न्यायको लागि प्रहरीमा लैजान भुमिका खेलेको भन्दै प्रतिवादीका आफन्तले धम्की दिने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार शान्ति सुरक्षाको माग राख्दै उनीहरूले निवेदन दर्ता गराएका हुन् । निवेदन दर्ता गराउनेहरूमा परमेश्वर सरवरिया, खट्रबहादुर गुरूङ र जगनाथकुमार रायकर्मी रहेका छन् ।

‘प्रतिवादी र प्रतिवादीका आफन्तले डर, त्रास, गालीगलौज, ज्यान मार्ने धम्की दिएको कारण हामी र पीडित बालिकाको संरक्षक असुरक्षित रहेकोले भोलिका दिनमा कुनै किसिमको अप्रिय घटना हामीसँग भए सम्पूर्ण जिम्मेवारी प्रतिवादीहरू हुनपर्दछ,’ निवेदनमा उल्लेख छ । उनीहरूले प्रशासनमा निवेदन दर्ता गराएपछि मंगलबार मोरङ प्रहरीलाई शान्ति सुरक्षा कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङले पत्राचार गरेको छ ।

मिलापत्र गराउनेलाई यस्तो छ सजाय
बलात्कारका घटनालाई मिलापत्र गराउने व्यक्ति तथा निकायहरूलाई पनि करणीसम्बन्धी कसुरमा सजायको व्यवस्था छ । गत मंसिर २१ गतेदेखि उक्त सजाय लागू भएको हो ।

करणी सम्बन्धी कसुर भएपछि निज वा निजको परिवारलाई कुनै प्रकारको डर, धम्की दिइ करकापमा पारी कुनै किसिमको लेनदेन वा त्यस्तो कसुर, मन्जुरी नगर्न, जाहेरी नदिन, अदालतमा उपस्थित नहुन मन्जुर गराउन, पीडित परिवारको सदस्यबचि मेलमिलाप, मिलापत्र गराउन वा सोको लागि प्रभाव र दबाबमा पार्न हँुदैन । यदि यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा भने करणी सम्बन्धीको उपदफा २ बमोजिमको सजाय थप ६ महिना कैद हुने कानुनी व्यवस्था छ ।