शनिबारदेखि मिल्स गोल्डकप : पहिलो दिन सशस्त्र प्रहरी र उर्लाबारी भिड्दै

विराटनगर। प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर– १६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेल सशस्त्र प्रहरी बल पूर्वाञ्चल र उर्लाबारी फुटबल क्लब मोरङ बिच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले गर्नेछन् ।
चैत ७ देखि १४ गतेसम्म प्रथम मिल्स गोल्डकप संचालन हुनेछ । उद्घाटनको दिन हुने प्रतियोगिताको बिजेता टिमले चैत ९ गते हुने १ नं. प्रदेश प्रहरी कार्यालय रानी मोरङ र एलेभेन एरोज क्लब दुहबी सुनसरीको बिजेता टिमसँग प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रदेशभरीका ८ टिमको सहभागि रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ को सशस्त्र प्रहरी बल पूर्वाञ्चल, १ नम्बर प्रदेश प्रहरी कार्यालय, मोरङको उर्लाबारी फुटबल क्लब, विराटनगरको साइनो स्पोर्ट्स क्लब, सुनसरी दुहबीको एलेभेन एरोज क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सुनसरीको धरान सिटी फुटबल क्लब र झापाको सताक्षीधाम स्पोर्ट्स क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँका प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
प्रतियोगिताको म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज), सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, कोच र उदयमान खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
विराटनगरको फुटबल इतिहासमा मिल्स एरियाको योगदान र पहिचान गराउनुका साथै फुटबल खेललाई गतिसिल बनाउँदै लैजाने उद्देश्यले प्रतियोगिता सुरू गरिएको ट्रष्टका अध्यक्ष शाहीले बताए । नयाँ पुस्तालाई खेलकुदका माध्यमबाट सकारात्मक संस्कार सिकाउँदै सभ्य समाज निर्माण गरी सामाजिक दाहित्व बहन गराउने ट्रष्टको लक्ष्य रहेको शाहीले बताए ।

शुक्रबार, ०६ चैत, २०७७, साँझको ०६:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर