विदेशीसहितका दश टिम सहभागी हुने

विराट गोल्डकप चैत्र अन्तिम सातादेखि

विराटनगर । छैठौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट सुरु हुने भएको छ ।

आउँदो चैत्र २६ गते साँझ ७ बजेदेखि विराटनगरको सहिद रङ्गशालामा रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मलेन गर्दै विराट गोल्ड कप फुटबल ट्रष्टले प्रदेश सरकारको लगानीमा सहिद रङ्गशालामा फर्डलाईट जडानको कार्य सम्पन्न भएसँगै रात्रीकालीन गोल्डकपको आयोजना गरिएको जनाएको छ । गोल्डकप चैत्र २६ देखि सुरु भएर बैशाख ४ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।

गोल्डकपलाई सफलतापुर्वक सम्पन्न गराउन ट्रष्टका सदस्य मनोज बिक्रम शाहको संयोजकत्वमा मूल आयोजक समिति निमार्ण गरिएको छ । प्रतियोगितामा विदेशी टिम भारत र क्यामरूनका सहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहने आयोजक समितिका संयोजक शाहले जानकारी दिनुभयो । गोल्डकपमा भारत पञ्जाब पुलिस, झारखण्डको टाटा एकेडेमी र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन लगायतको टीम पनि प्रथम पटक सहभागि हुँदैछ । नेपालको मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब, संकटा क्लब, राष्ट्रिय लिग बिजेता टिम मच्छिन्द्र क्लब, रुपन्देही र विराटनगर–११ टीम पनि सहभागि हुने आयोजकले जनाएको छ । यसका लागी हुने सम्पुर्ण खर्चको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको विराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समिति विराटनगरका संयोजक मनोज बिक्रम शाहले जानकारी दिनुभयो ।

गोल्डकप ट्रष्टले विगतका वर्षहरूको तुलनामा यसबर्षको विजेताले पाउने पुरस्कार राशी पनि बढाएको छ । गोल्डकप विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित आकर्षक शिल्ड पनि पाउने आयोजकले जनाएको छ । यसअघिको पाँचौ संस्करण विजेताले १३ लाख र उपविजेताले ७ लाख नगद पुरस्कार पाएको थियो । पाँचौ संस्करण थ्री स्टार क्लब विजेताको उपाधि हात पारेको थियो भने आर्मीले उपविजेताको उपाधि हात पारेको थियो ।

यसबर्ष प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई मोटरसाईकलसहित पदक प्रदान गर्ने योजना तय भएको आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले बताउनुभयो । उहाँले प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापक समेतलाई जनही २५–२५ हजार नगर पुरस्कार प्रदान गरिने तयारी रहेको जानकारी दिनुभयो । प्रतियोगिताको हरेक दिनको खेल हेर्न चाहनेहरुका लागी दैनिक टिकटका साथै २ हजार रुँपैयाको सिजनल टिकटको व्यवस्था समेत गरिएको उहाँले स्पष्ट पार्नुभयो । रातीको ७ बजेदेखि सुरू हुने गोल्डकपको दैनिक टिकट दर रु. २ सय, ३ सय र ४ सय रहेको छ ।

आयोजक समितिले गोल्डकप हेर्न आउने दर्शकको सुरक्षालाई पनि बिशेष ध्यान पु¥याएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा ठाउँठाउँमा व्यापक मात्रामा प्रहरी परिचालन गरिने आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले बताउनुभयो । उहाँले गोल्डकप अवधिभर रङ्गशाला आसपासका क्षेत्रमा प्रत्यक्ष निगरानीका लागी ३५ वटा सीसीटिभी क्यामेरा जडानको कार्य पनि धमाधम भईरहेको जानकारी दिनुभयो ।

यस्तो छ गोल्डकपको ईतिहास

विराटनगरका उद्योगी एवं व्यवसायी राजेन्द्र राउतले पहिलो पटक निजी क्षेत्रबाट गोल्डकप आयोजनाको जिम्मा लिएर सफल बनाएका थिए । त्यसपछि उद्योगी नविन रिजालको सक्रियतामा त्यसलाई परिस्कृत गरेर डे–नाइट खेल सञ्चालन गरियो । तर रिजालले पनि दोस्रो पटकबाट त्यसलाई निरन्तरता दिन सकेनन् । ट्रष्टको केही दिन अगाडीको बैठकले गोल्डकप आयोजना गर्ने जिम्मा फेरि निजी क्षेत्रलाई दिएको हो ।

केही समयदेखि निजी क्षेत्रको नेतृत्वमा हुँदै आएको प्रतियोगिता विवादरहित ढंगबाट भव्य रुपले सफल पनि हुँदै आईरहेको छ । लामो समयदेखि ठप्प रहेको गोल्डकप २०६८ सालमा सञ्चालन गर्ने जिम्मा भीम कुँवरले पाएका थिए । गोल्डकपको हिसाबकिताब पारदर्शी नभएको आरोप लागेका कारण त्यसपछि प्रतियोगिताले कुँवरको नेतृत्व पाउन सकेन । अनियमितताको आरोपसँगै कुँवर नेतृत्वमा रहेका पदाधिकारीले राजीनामा दिए ।

त्यसपछि प्रतियोगिता सञ्चालन गर्ने जिम्मा प्रतिष्ठित उद्योगी राउतको काँधमा आएको हो । उनले प्रतियोगितालाई भव्य रुपमा सफल बनाए । त्यसपछि उद्योगी रिजालले रात्रिकालिन प्रतियोगिता गराए । त्यसपछि निरन्तरता हुन सकेन । रिजालपछि ट्रष्टले युवा उद्यमी शाहलाई विश्वास गरेर यस वर्ष प्रतियोगिता आयोजक समितिको नेतृत्व प्रदान गरेको हो ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रुपमा यसको सुरुवात भएको इतिहास छ । ३९ वर्षसम्म नियमित रुपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने निक्कै लामो समय बन्द भयो । ११ वर्षसम्म गोल्डकप हुनै सकेन ।

त्यसपछि नाम परिवर्तन गर्दै महेन्द्रबाट विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । २०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको छ ।

 

बिहिबार, ०५ चैत, २०७७, साँझको ०७:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर