विराटनगर । विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई हटाउन खोजेपछि स्थानीय आन्दोलित भएका छन् ।
झण्डै ४० वर्षदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई विराटनगर महानगरपालिकाले जबरजस्ती हटाउन खोजेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । गोग्राहा चोकका सुकुम्बासीको घर भत्काउन खोजेको भन्दै उनीहरूले महानगरपालिकाविरुद्ध नाराबाजी गर्दै विरोध प्रर्दशन गरे ।
शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको महानगरपालिकाले अपरान्ह नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो । तर, जबरजस्ती घर भत्काउन लागेको भन्दै स्थानीयले मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीविरुद्ध नाराबाजी गरेपछि महानगरको टोली फिर्ता भएको हो ।
महानगरको टोलीले आइतबार महानगरपालिकामा छलफलमा आउन आग्रहसमेत गरेको छ । स्थानीयले महानगर प्रमुख भीम पराजुलीको राजीनामा माग गरेका थिए । ‘भीम पराजली राजीनामा दे,’ ‘इन्दिरा कार्की मुर्दावाद’, सुकुम्बासीको आवास ग्यारेन्टी गरलगायतका नारा लगाउँदै स्थानीयले विरोध गरे । आइतबार स्थानियले विराटनगर महानगरपालिका घेराउ गर्ने जसपा मोरङका सदस्य कुशेश्वर राजवंशीले जानकारी दिए । ‘वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासी र गुठी रहेको घर भत्काउन आउने महानगरपालिकाको निर्णाय तत्काल नसच्याएसम्म हामी आन्दोलन जारी राख्नेछौं,’ उनले भने ।


