विराटनगर । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् ।
मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार भएका एक जना थुनुवा मंगलबार साँझ पक्राउ गरेका हुन् ।
लागूऔषध मुद्दामा सोमबार मोरङ अदालतमा म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको विर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका थिए । फरार भएकामध्ये शेख पक्राउ परेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर अनुसन्धान सुरु गरेको एसपी खड्काले बताउनुभयो । फरार भएका अर्का थुनुवाको पनि खोजी कार्य भइरहेकोले चाँडै पक्राउ पर्ने उहाँको भनाइ छ ।
मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोली परिचालन भएर शेखलाई भारतको अररियादेखि पक्राउ गरेको हो । उनलाई मोरङको जहदा गाउँपालिको डुमरिया नाकादेखि करिब दुई किलोमिटर दक्षिण भारतमा लुकेर बसेको गाउँको दिदी पर्ने घरदेखि प्रहरीले पक्राउ गरेर ल्याएको हो ।
‘अदालतदेखि फरार भएपछि सोझै भारततिर गएका रहेछन्,’ प्रहरीले स्रोतले भन्यो, ‘खोजी गर्दै जाँदा शेख छिमेकी दिदी पर्नेको घर भारतमा पनि रहेछ । त्यही घरमा लुकेर बसेको अवस्थामा भेटियो ।’ अदालतदेखि भागेपछि शेख गाउँको छिमेकी दिदी भारतको अररीयास्थित शिला रामको घरमा लुकेर बसेको अवस्थमा प्रहरीले उनलाई पक्राउ गरेको हो । भारतीय प्रहरीसँग समन्वय गरेपछि शेखलाई नेपाल ल्याइएको छ ।
सोमबार चार बजेको समयमा उनीहरु फरार भएका थिए । फरार भएको २४ घण्टापछि शखेलाई प्रहरीले पक्राउ गरेको हो ।
शेखलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो । शेख ब्राउन सुगरको कारोबारी हुन् । उनले भारतदेखि अवैध रुपमा लागूऔषध ल्याएर पूर्वको विभिन्न स्थानमा विक्री बितरण गर्दछन् ।
उनी यसअघि पनि मोरङ प्रहरीले लागूऔषधसहित पक्राउ गरेको अभियुक्त हुन् । दुई महिना अगाडि उनलाई लागूऔषधसहित प्रहरीले पक्राउ परेका थिए । उनी धरौटीमा रिहा भएका थिए ।

