विराटनगर । सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले २०७६ सालमा स्थापना गरेको सी.डी.आर शाखामार्फत ३ सय ६४ थान हराएका तथा चोरी भएका मोबाइलहरु फेला पारेको छ ।
शाखा स्थापना भएको १ वर्षको अवधिमा कार्यालयले मोबाईलहरु फेला पारेको हो । २०७६ सालमा अपराध अनुसन्धानमा थप टेवा पुग्ने उद्देश्यका साथ ईलाका प्रहरीले सी.डी.आर शाखाको स्थापना गरेको थियो ।
सी.डि.आर.मार्फत ९० प्रतिशतको मोबाईल फोन भेटिन थालेपछि यसप्रति आम नागरिकको विश्वास बढ्दै गएको ईलाका प्रहरीले जनाएको छ । सी.डि.आर.मार्फत हराएका मोबाईल भेटिनुका साथै अपराध न्यूनीकरणमा सघाउ पुगेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताउनुभयो ।
‘डिजिटल डिभाईस’ हरुको सहयोगले हराएका वा चोरी भएका मोबाईलहरु फेला पार्ने गरिएको छ । ‘विभिन्न ‘डिभाइस’ हरुको प्रयोग गरेर मोबाइलहरुको खोजी गर्छौ, उहाँले भन्नुभयो, ‘टेक्निकल कुराहरुको बिश्लेषणको आधारमा विभिन्न अभ्यासहरुबाट हामीले मोबाईल फोनको लोकेशन पत्ता लगाउँछौं ।’
इलाका प्रहरीले भने सबैभन्दा थोरै समय १ महिनाभित्र हराएको मोबाईल फोन फेला पारेको छ । प्राविधिक समस्या र हाई सेक्युरिटीका कारण कुनै कुनै फोन फेला पार्न वर्षदिन लाग्ने गरेको प्रहरीले जनाएको छ । हराएको मोबाइलको आइ.एम.इ.आइ नम्बर उपलब्ध गराउन सकिए मोबाईल फेला पार्ने सम्भावना बढी हुने गरेको इलाका प्रहरीको तर्क छ ।
सी.डी.आर.शाखामार्फत प्रहरीले मोबाइल खोजी गरेर फेला पार्दै आएको भएपनि फिर्ता लानेको संख्या भने न्युन रहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोबाईल फिर्ता लानेको संख्या ५० प्रतिशतको हाराहारीमा रहेको कार्यालयको भनाई छ ।
गत असोजमा मात्रै ईलाका प्रहरी कार्यालय इटहरीले ३६ जनाको मोबाईल फेला पार्दा ८ जनाले आफ्नो मोबाईल बुझेका थिए । जाहेरी दिएपनि मोबाइल फिर्ता लिन आउनको संख्या न्युन रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।