विराटनगर । भन्सार विभागको आयोजानामा भन्सार जा“चपास पछिको परिक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालको उपस्थितिमा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्शी र इमान्दारीपूर्वक काम गरे राजश्वको लक्ष्य प्राप्त भई मुलुकले समृद्धि हासिल गर्ने बताउनु भयो ।
अध्यक्ष घिमिरेले नीजि क्षेत्रलाई देशको आर्थिक एवं औद्योगिक समृद्धिको सहयात्रीको रुपमा लिई एकअर्काको विश्वासको वातावरण तयार गर्न अनुरोध गर्नुभयो । मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले भन्सार जा“ँचपास भएको मितिले चार वर्षसम्म परिक्षण गर्न पाउने कानूनी व्यवस्थालाई व्यवहारिक बनाउन १ वर्षको समय कायम गरिनुपर्ने बताउनुभयो । न्यून विजिकरणको शंका लागेमा पैठारी भएका मालसामानहरुको विजक मुल्यमा १० प्रतिशत मुल्य अभिवृद्धि गरी भन्सार विभागले नै खरिद गर्ने व्यवस्था कार्यान्वयन गर्न पनि उहाँले जोड दिनुभयो ।
विभागका महानिर्देशक दाहालले भन्सार विभागले सरकारद्धारा निर्दिष्ट नीति नियमको पालना गराउँदै आयात तथा निर्यात व्यापारमा सहजीकरण गर्दै आएको बताउनुभयो । भन्सार कार्यालयसँग सम्वन्धित समस्या स्थानीय स्तरमै सुल्झाउँदै नीतिगत समस्या आएमा समाधानका लागि विभाग तयार रहेको उहाँको भनाइ छ ।
भन्सार विभाग प्रविधिमैत्री बनाउन सक्रिय रुपमा अघि बढेको जानकारी गराउँदै दाहालले समयअनुकुल नीति नियम परिमार्जन हुने बताउनुभयो । प्रमुख भन्सार परीक्षण प्रशासक विष्णुराज ढकालले उद्योगी÷व्यवसायीलाई एच.एस कोडको घोषणा बुझेर गर्न आग्रह गर्दै कानूनको परिपालना गर्नु र गराउनु भन्सारको काम भएको बताउनु भयो ।
कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडाले लगानीमैत्री वातावरण वनाउन सबैको सहयोग हुनुपर्ने धारणा राख्नुभयो । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशिल धनावतले उद्योगी व्यवसायीलाई मात्र दोष दिएर हरेक कुरामा जरिवाना लाउन नहुने धारणा राख्नुभयो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले भन्सार कार्यालयले नेपाल सरकारद्धारा निर्दिष्ट ऐन, कानून कार्यान्वयन गर्ने निकाय रहेको बताउनु भयो । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाले स्थानीय उद्योगी व्यवसायीको आफू मातहतको समस्या तत्काल सम्बोधन गर्दै नीतिगत सुधारका लागि विभागमा पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा संगठनका उपाध्यक्ष प्रदिप मुरारका, कार्यसमिति सदस्य पारस लुनिया, भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष प्रविण जोशी, विराट व्यापार संघका निवर्तमान अध्यक्ष शिव रिजालसहितले व्यवसायीले भन्सारमा भोग्नुपर्ने प्रक्रियागत जटिलताका सम्वन्धमा जानकारी गराउँदै समाधानका लागि अनुरोध गर्नु भएको थियो ।