विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रदेश १ संसदमा टेबल भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सिटौलाले देशभर वर्तमान सरकारका विरुद्धमा आन्दोलन गरिरहेको कांग्रेसले प्रदेश १ मा पनि सोही अनुसार मतदान गर्ने बताएका हुन् ।
‘कांग्रेसले ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक कदमको विरुद्धमा दशौं लाख कार्यकर्ता सडकमा उतारेको छ,’ सिटौलाले भने, ‘अब ओलीकै नेतृत्वको कम्युनिष्ट पार्टीलाई सहयोग गरेर जाने कुरै हुँदैन । कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नेछ ।’ सत्तापक्षको विरोध र बहिष्कारकाबीच प्रदेश १ मा आज मात्रै अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।
ओली नेतृत्वको सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउँदै सिटौलाले विराटनगरसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको बताए । ‘अदालत धम्क्याउने, अख्तियार कब्जा गर्ने, लोकसेवा कब्जा गर्ने, सर्वसत्तावादी शैली ओलीले देखाउनु भएको छ,’ उनले भने, ‘यस्तो कदमको भत्र्सना गर्दछौं र कांग्रेस यसको विपक्षमा उभिने प्रष्ट पार्दछौं ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निश्चित भएको विश्वास व्यक्त गर्दै सिटौलाले थपे, ‘अहिलेको राजनीतिक प्रणाली ध्वस्त पार्ने कदमलाई हाम्रो अदालतले साथ दिने कल्पनासम्म गर्न सकिँदैन ।’ अदालतले पुनःस्थापना नगरे निर्वाचनमा जान कांगे्रस तयार हो भन्ने संचारकर्मीको प्रश्नमा सिटौलाको जवाफ थियो, ‘अदालतले त्यसो गर्दै गर्दैन, यो काल्पनिक कुरा नगरौं ।’
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले व्यवस्था नै संकटमा पार्ने गरी आएको बताउँदै उनले व्यवस्था नै अस्थिरता तिर जाने गरी कुनै निर्णय अदालतले नगर्नेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताए ।