लोड हुँदैछ...

मेनु

प्रचण्डलाई फर्केर पार्टीमा आउन ओलीको आग्रह

प्रचण्डलाई फर्केर पार्टीमा आउन ओलीको आग्रह

विराटनगर । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गलत बाटो छोडेर आफूमा समाहित हुन पुनः आव्हान गर्नुभएको छ ।

विराटनगरमा आज आयोजित जनसभामा बोल्दै ओलीले जनताको सागरमा सामेल हुन मन भए फर्किन आग्रह गर्नुभएको हो । ‘२÷४ सिटमा सिमीत हुने गरी सिद्धिसकेका प्रचण्डलाई मैले ल्याएर एउटा जुरो हालिदिएको थिएँ, ठूलो जुरो भएपछि, अलिकति सिंङ पनि हाल्दिएको थिएँ, लामा सिंङ भएपछि उहाँमा अहंकार बढ्यो, उहाँले हामीलाई नै सिध्याउँछौं भनेर हिंड्नु भयो, अब उहाँको नियति असफलता बाहेक केही छैन,’ ओलीले भन्नुभयो, ‘उहाँ फर्किने बाटोमा हिंड्नु भएको होइन, उहाँ खिइँदै, खिइँदै हिंड्ने बाटोमा हिंड्नु भएको हो । अब उहाँको हविगत असफलता नै हो ।’

आफूहरुको उद्देश्य वादविवाद गर्ने नभएको बताउँदै ओलीले प्रचण्डले अहिले झाँक्रीको सहारामा पुगेको भन्दै व्यंग्य गर्नुभयो । ‘प्रचण्डजीको त यस्तो माया लाग्छ, वैद्य हुनुहुन्थ्यो, उहाँले छोडेर हिंड्नु भयो, डाक्टरको साहरा लिनुभयो, डाक्टरले पनि छोड्नु भयो,’ ओलीले भने, ‘अहिले त झाँक्री लिएर हिंड्नु भएको छ । उहाँले गलत बाटो रोज्नु भयो । त्यसले सफल बनाउँदैन ।’

प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको सभालाई इंगित गर्दै ओलीले विराटनगरमा सभा हेर्न आउन आग्रह गर्नुभयो । ‘केही मानिसहरु यो पार्टीलाई सिध्याउन र विभाजित गर्नका लागि फुटको खेतिमा तल्लिन छन् । अस्ति २÷४ हजार मानिस जम्मा गरेर मलाई धाक लगाउँदै थिए । केपी ओली जनताको अनुहार हेर्न आउ भनेर । म तिनीहरुलाई भन्छु, यतातिर पनि हेर्ने कि आएर ?,’ ओलीले भने, ‘चन्द्रमाले मात्रै आजको सभा कत्रो छ भनेर देख्छ अरुले देख्न सक्दैन ।’

ओलीले विकास निर्माणको क्षेत्रमा सरकारले ऐतिहासिक तीब्रताको साथ काम गरेको बताउँदै अर्को वर्षमात्रै नेपाल विकासिल मुलुकमा स्तरउन्नति हुने दाबी गरे । विभिन्न तथ्यांक उल्लेख गर्दै उनले २०२२ सम्ममा विकासिल हुने र सन् २०३० भन्दा अगाडि नै दिगो विकासको लक्ष्यमा पुग्ने दाबी गरे ।

ओलीले कोभिडविरुद्धको भ्याक्सिनका डोजहरु पनि चीनबाट ल्याउन लागिएको उल्लेख गर्दै, जनतालाई खान, लाउने, शिक्षा, स्वास्थ्यको पहुँमा पुग्न सक्ने अवस्था सिर्जना गर्ने, सामाजिक न्यायको क्षेत्रमा विभेद अन्त्य गर्ने, अन्धविश्वासमा नभएर आधुनिक, विकासित समाज निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds