मुख्यमन्त्री राईलाई पूर्वमन्त्री आङ्बोको ६ प्रश्न : सदनबाट किन भाग्नुभएको ?

तपाईं सदनमा दर्ता भएको अविश्वासको प्रस्ताव फेस गर्न तयार हो कि होइन....? सदनले दिने फैसला मान्न तयार हो कि होइन....?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विभिन्न ६ वटा प्रश्न गर्दै नेकपाका नेता तथा प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जवाफ माग गर्नुभएको छ ।

आङ्बोले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि त्यसलाई खारेज गर्ने व्यवस्था संविधान, ऐन र नियमावलीको कुन धारा र दफामा छ भन्ने प्रश्न गर्नुभएको छ । सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्यमन्त्री राईले दबाब दिइरहेको प्रसंग उल्लेख गर्दै अल्पमतमा रहेको दलको नेताले बहुमत पक्षलाई स्पष्टिकरण, निलम्बन गर्ने कानूनी र नैतिक अधिकार काहाँ रहेको छ भन्ने प्रश्नसमेत गर्नुभएको छ ।

पूर्वमन्त्री आङ्बोले मुख्यमन्त्रीलाई प्रश्न गर्दै लेख्नुभएको स्टाटसको पूर्ण पाठ

मा. मुख्यमन्त्री ज्यू
प्रदेश नं. १

१. संवैधानिक प्रावधान अनुरुप एक चौथाइ प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गरिसके पछि त्यसलाई खारेज गर्ने व्यवस्था संविधान, ऐन र नियामावलीको कुन धारा र दफामा छ र सभामुखलाई दबाव दिँदै हुनुहुन्छ…. ?

२. दलको बहुमत सदस्यहरुले दलको नेतालाई संसदीय दलमा र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसके पछि अल्पमतमा रहेको दलको नेताले बहुमत पक्षलार्इ स्पष्टीकरण, निलम्बन आदि आदि गतिविधि गर्ने कानुनी र नैतिक अधिकार कहाँ रहन्छ…? दलको नेता विरुद्ध अबिश्वासको प्रस्ताव ल्याउँदा दलको नेतालार्इ नै सोधेर ल्याइन्छ र …? त्यही भएर दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव उपनेता समक्ष पेश गर्ने व्यवस्था दलको विधानमा राखिएको होइन र…? फेरि राजनैतिक रुपमा पार्टी विभाजित भइसकेको सन्दर्भमा यस्तो हर्कतको उपादेयाता के रहन्छ र … ?

३. अविश्वासको प्रस्ताव दर्ता भएको प्रारम्भिक समयमा ‘आरामले फेस गर्छु, सुविधाजनक बहुमत मसँग रहन्छ, गणितमा अहिलेसम्म फेल भएको छैन भनेर पटक–पटक सार्वजनिक रुपमा भन्ने मुख्यमन्त्री आज किन विभिन्न बहानामा सदनसँग भागिरहनु भएको छ…. ?

४. संविधानले एकै व्यक्तिको लागि नाम नै तोकेर मुख्यमन्त्रीको पद–कुर्सी राख्ने व्यवस्था गरेको बुझ्नु भा हो तपाईंले ….? नत्र आफ्नो कुर्सी हल्लिने बितिकै संसद भङ्ग गर्ने असंवैधानिक धम्की लज्जास्पद होइन र… ? कि खड्गप्रसादलार्इ जस्तै संविधान कानुन केही चाहिन्न तपाईंलाई पनि…?

५. निश्चित व्यक्ति रहँदा मात्र संघीयता रहने प्रदेश रहने स्थायित्व हुने आफ्नो कुर्सी धरापमा पर्ने बितिकै सबै संकटमा देख्ने यो कस्तो लोकतान्त्रिक चरित्र हो ….?

६. तपाईं सदनमा दर्ता भएको अविश्वासको प्रस्ताव फेस गर्न तयार हो कि होइन….? सदनले दिने फैसला मान्न तयार हो कि होइन….?

हामी तपाईंको जवाफ चाहन्छौं सार्वजनिक मिडियामा मात्र होइन सम्मानित प्रदेश सभामा… ।

शुक्रबार, ०७ फागुन, २०७७, बिहानको ११:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर