प्रदेशसभा विघटन गर्ने अभिव्यक्तिले तरङ्ग

प्रदेशसभा भङ्ग गर्नुपर्ने कुनै परिस्थिति बनेको छैन, हामी भङ्ग गर्छौं भनेर कसैले भनेको भए त्यो धम्कीका लागि हुनसक्छ : सांसद लछुमन तिवारी

विराटनरगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरको एक अनलाइनलाई अन्तरवार्ता दिने क्रममा यस्तै अवस्था रहे प्रदेशसभा विघटन हुन्छ भनेर दिएको अभिव्यक्तिले तरङ्ग उत्पन्न भएको छ ।

मुख्यमन्त्री राईको यो अभिव्यक्तिपछि नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको आलोचना गर्दै ‘अब नाङ्गो हुन कुनै वस्त्र बाँकी छ ?’ भनि प्रश्न गर्नुभएको छ ।

‘आफ्नो मुख्यमन्त्री पदमा र कुर्सीमा कसैले आँखा लगाए प्रदेशसभा विघटन गरिदिने खड्गप्रसादको असली उत्तराधिकारीको धम्की…’, आङ्बोले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्नुभएको छ, ‘वा तिम्रो लोकतान्त्रिक चरित्र…,अब नाङ्गो हुन कुनै वस्त्र बाँकी छ…? र हिम्मत भए संसद फेस गर्नुस धम्की होइन ।’

मुख्यमन्त्री राईले बिहीबार बिहान कोशी अनलाईनलाई दिएको अन्तरवार्तामा अविश्वासको प्रस्ताव विधान विपरीत भएको कारण त्यो सभामुखले खारेज गर्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘उहाँहरुको जुन प्रकारको रवैयाँ छ, उहाँहरु भत्काउने र कब्जा गर्ने नीति माथिबाटै सुरु गर्नु भएको हो’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘जबरजस्त गर्ने, भाँडभैलो मच्चाउनेतर्फ जानु भयो भने त्यहाँ (भङ्गको अवस्थामा) नपुग्ला भन्न सकिन्न ।’

यो विषयमा अझै प्रष्ट पार्दै मुख्यमन्त्री राईले एउटा प्रदेश मात्रै नभएर सबै प्रदेश भङ्ग हुनसक्ने संकेत गर्नुभयो । ‘यो सबै प्रदेशको हकमा हुनसक्छ । उहाँहरु जुन प्रकारले भत्काउने, सबै कब्जा गर्ने गलत नियतबाट अघि बढिराख्नु भएको छ । त्योखालको रवैयाले भङ्ग गर्ने ठाउँमा पुग्न सक्छ । तर हामी चाहिँ यस्तो अवस्था नआओस् भनेर भङ्ग गर्न हुँदैन भन्ने पक्षमा छौं । म आफू भङ्ग गर्नका लागि सिफारिस गर्दिन भनेको छु,’ उहाँले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव दर्ता भएपछि संसद् बैठकको आह्वानका लागि सिफारिस मैले सिफारिस गरेको हो । यदि त्यस्तो हुन्थ्यो भने त्यसअघि नै विघटनको सिफारिस गर्नसक्ने अवस्था हुन्थ्यो नि ! तर मैले गरिनँ । म त्यो पक्षमा छैन । तर उहाँहरुको रवैयाका कारण त्यतातर्फ नपुग्ला भन्न सकिन्न ।’

‘अविश्वासको प्रस्ताव दर्ता गर्न पाइन्छ । तर स्पष्ट रुपमा दलका सदस्यले दलको विधानलाई कुल्चेर, विधान विपरित दल र दलको नेतालाई जानकारी नदिई प्रस्ताव लैजान पाउने व्यवस्था छैन,’ उहाँले भन्नुभयो, ‘त्यसो भएकाले हामीले वैधानिक प्रश्न उठाएका हौं । यसको निरुपण कहीं न कहीं रुपमा त हुनप¥यो । या त गत्ती भयो भनेर रियलाइज गर्नुप¥यो, या त सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्नुप¥यो, या त यसरी अघि बढौं भनेर एउटा सहमति बन्नु प¥यो ।’

प्रचण्ड–माधव पक्षले गरेका गम्भीर गल्तीलाई, भूललाई ढाकछोप गर्न विभिन्न प्रचार गरिरहेको राईले दाबी गर्नुभयो । १६ जना कारवाहीमा परेकाहरुको हकमा प्रश्न उठेको र त्यही प्रश्न उठेका कारण बैठक नचलेको बताउँदै राईले त्यो कारवाही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

संसद भङ्ग हुने विषयमा मुख्यमन्त्रीले दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै प्रदेशसभा सदस्य लछुमन तिवारीले यो असंवैधानिक भएको बताउनु भयो । ‘कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउनकै लागि संसद बनेको होइन,’ तिवारीले भन्नुभयो, ‘अहिले संसद चलिरहेको बेलामा संसद भङ्ग गर्ने कुनै संवैधानिक व्यवस्था पनि छैन, राष्ट्रपतिले प्रदेशसभा भङ्ग गर्नुपर्ने त्यस्तो कुनै परिस्थिति पनि बनेको छैन, यो बेला हामी भंग गर्छौं भनेर कसैले भनेको भए त्यो धाक–धम्कीका लागि हुनसक्छ ।’

बिहिबार, ०६ फागुन, २०७७, दिउँसोको ०३:१९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर