कोरोनापछि जुर्मुराउँदै खेल क्षेत्र

रोकिएका प्रतियोगिता सुरु, अभ्यासमा फर्किए खेलाडी, ओलीको आमसभाले रोकियो क्रिकेट

विराटनगर । कोरोना कहरले ठप्प रहेको विराटनगरको खेल क्षेत्र जुर्मुराउन थालेको छ । यसले खेलकुदकर्मी मात्रै होइन, खेलप्रेमीहरुलाई पनि उत्साही बनाएको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना कहरमा झण्डै एक वर्ष खेल क्षेत्र ठप्प रह्यो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र कोभिडको सन्त्रासको कारण नियमित प्रतियोगिता, खेलाडीको अभ्याससमेत रोकिएको थियो ।

कोभिडको सन्त्रास छाएको ९ महिनापछि मोरङमा खेलकुद क्षेत्रको नियमित अभ्यास र प्रतियोगितामा खेलाडी व्यस्त हुन थालेका छन् । पछिल्लो समय मोरङको विभिन्न स्थानमा खेलकुद प्रतियोगिता नियमितजसो हुन थालेको छ ।

खेलकुद विकास समिति मोरङका प्रमुख देवराज कटुवाल खेलकुद क्षेत्र जुर्मुराउन थालेको बताउँछन् । उनका अनुसार प्रदेश, जिल्लास्तरीय, गोल्डकप फुटबल र स्थानीय तहहरूमा हुने खेलकुदका प्रतियोगिताहरू नियमित हुन थालेका छन् । फुटबल, क्रिकेट, ब्याडमिन्टन जस्ता खेलका लागि प्रदेश १ र यसको राजधानी विराटनगर कहलिएको क्षेत्र हो ।

फागुन अन्तिम साता १ नम्बर प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला स्मृति व्याडमिटन प्रतियोगिता हँुदैछ । गतवर्षदेखि सुरू भएको पुरूष हक्की प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको छ । केही दिनअघि मोरङको मिक्लाजुङ्ग गाउँपालिकामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भइसकेको छ । ‘अहिले प्रदेश र जिल्लास्तरीय खेलकुदका कार्यक्रमहरूले निरन्तरता पाएको छ । यहाँ खेल गतिविधि नियमित छन,’ उनले भने, ‘प्रशिक्षण पनि नियमित छ ।’

खेल क्षेत्रका लागि अर्को सुखद् खबर के छ भने दुई वर्षदेखि अनिश्चित बनेको विराट गोल्डकप आउँदो चैतको अन्तिम साता सुरू हुने भएको छ । कोरोनाको कारण रोकिएको गोल्डकप चैत २६ गतेदेखि रात्रीकालीन स्वरुपमा हुने भएको हो । प्रदेश सरकारले रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाईट जडान गरेकोले यसवर्ष रात्रीकालीन प्रतियोगिता हुनेछ ।

गोल्डकप ट्रष्टको गत शनिबार बसेको बैठकले प्रतियोगिता आयोजक समितिको संयोजक पनि तोकेको छ । समितिको संयोजकमा युवा व्यवसायी मनोजविक्रम साह चुनिएका छन् । विराट गोल्डकप नेपाली फुटबल प्रतियोगिताहरु मध्येको सर्वाधिक ठूलो र चर्चित प्रतियोगिता हो । विराट गोल्डकप महेन्द्र गोल्डकपको नामबाट २०१८ सालदेखि शुरू भएको हो । नियमित रूपमा सञ्चालन भइरहेको गोल्डकप २०५७ सालदेखि अवरुद्ध हुनपुग्यो । लामो समयदेखि हुन नसकेको गोल्डकपको नाम फेरेर विराट गोल्ड कपको नाममा झण्डै ११ वर्षपछि पुनः २०६८ सालमा सुरु भएको थियो ।

यस्तै लक्ष्मीनिया युवा क्लबले मोरङको जहदा गाउँपालिका २ मा क्रिकेट प्रतियोगिता गर्दैछ । तेस्रो संस्करणको प्रतियोगिता यही फागुन ८ देखि २२ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । ‘कोरोना कहरमा खेलाडीको मनोबल घटेको थियो,’ विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले भने, ‘अब नियमित प्रशिक्षणमा आएर व्यस्त हुन थालेका छन् ।’ खेलकुद प्रतियोगिताहरू हुन थालेपछि खेलाडीहरू पनि उत्साहित छन् । लामो समय खेल्न नपाएका खेलाडीलाई पछिल्लो
समयको अवसर माछालाई पानीसरह बनेको उनीहरु बताउँछन् ।

ओलीको आमसभाले रोकियो क्रिकेट

नेपाल अग्रवाल युवा मन्च विराटनगरले आयोजना गर्ने मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता निर्धारित समयभन्दा एक साता पछि सरेको छ ।

प्रतियोगिता हुने स्थलमै प्रधानमन्त्री केपी शर्मा ओली समूहले आमसभा गर्ने भएपछि प्रतियोगिता सरेको हो ।

फागुन ८ गते विराटनगर –२ स्थित मैदानमा आमसभा गर्ने भएपछि आयोजकले प्रतियोगिता एक सातापछि सारेको हो । यसअघि आयोजकले २५ माघमा पत्रकार सम्मेलन गरि फागुन ४ देखि ८ गतेसम्म शंकरपुरमा प्रतियोगिता हुने जानकारी गराएको थियो । क्रिकेट हुने स्थानमा आमसभा गर्ने भनेपछि बाध्य भएर प्रतियोगिताको मिति सार्नुपरेको आयोजक समितिको भनाइ छ ।

प्रधानमन्त्रीको सभा हुने भएपछि मारवाडी प्रिमियर लिग फागुन ११ देखि १५ गतेसम्म हुने संयोजक अभिषेक केडियाले जानकारी दिए । ‘विगत वर्षहरूदेखि शंकरपुरमा हाम्रो प्रतियोगिता हुँदै आएको थियो । यस वर्ष पनि सोही स्थानमा गर्ने सम्पूर्ण तयारी पूरा गरेपछि पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजानिक गरेका थियौं,’ संयोजक केडियाले भने, ‘अन्तिम समयमा आएर प्रतियोगिताको फाइनलको दिन प्रधानमन्त्रीको आमसभा गर्ने भएपछि हामीले मिति सारेका हौं ।’ प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ ।

बिहिबार, ०६ फागुन, २०७७, बिहानको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर