प्रदेश सरकारले प्रजातन्त्र दिवसमा प्रभातफेरि गर्ने

विराटनगर । प्रदेश १ सरकारले ७१ औं प्रजातन्त्र दिवस (फागुन ७)को अवसरमा प्रदेशस्तरीय प्रभात फेरि गर्ने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्र पौडेल र उपसचिव कलमबहादुर थापाको नेतृत्वमा बुधबार बसेको प्रदेश सरकारस्तरीय बैठकले प्रभात फेरि आयोजना गर्ने निर्णय गरेको हो ।

विराटनगरको ट्राफिक चोकमा बिहान ७ः०० बजे भेला भएर सुरु गरिने प्रभातफेरि कार्यक्रम मुख्यमन्त्री कार्यालय पुगेर औपचारिक कार्यक्रमको रुपमा परिणत हुनेछ ।

सो अवसरमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल स्काउटले बाजागाजा सहितको मार्चपास गर्ने, प्रदेश १ का सबै संचार माध्यामहरुले राष्ट्रिय प्रजातन्त्र दिवसको विषयमा केन्द्रीत रही विशेष कार्यक्रम प्रशारण तथा प्रकाशन गर्ने र उल्लेखित कार्यक्रमहरुबारे सर्वसाधरणलाई जानकारी गराउन प्रचारप्रसार गर्ने, राष्ट्रिय झण्डा सबै निकायहरुलाई आ–आफ्नो कार्यालयमा र सर्वसाधरणलाई आ–आफ्नो घरमा राख्न आव्हान गर्ने निर्णय पनि सो समितिले गरेको छ ।

औपचारिक कार्यक्रमको अवसरमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाली झण्डाको झण्डोत्तोलन गरेसँगै विशेष सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको जनाइएको छ ।

बुधबार, ०५ फागुन, २०७७, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर