प्रदेश सरकारको शैली

सांसद उचाल्दै, संसद् बैठक धकेल्दै

अविश्वासको प्रस्तावको पक्षमा उभिने संकेत काँग्रेसले देखाएपछि शेरधन राई र उनको पक्षले सकेसम्म संसद् छल्न बैठक रोक्न लागेको छ

विराटनगर । संसद् बैठक लामो समय रोकेर सहमतिको प्रयास गर्ने भनेको प्रदेश १ सरकारले अर्को बैठक नजिकिँदासम्म कुनै पहल गरेको छैन । सरकार पक्षकै अवरोधले बारम्बार स्थगित हुँदै आएको प्रदेशसभा बैठकबारे अन्योल सरकार स्वयम् नै बढाइरहेको छ ।

सरकारी नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहमति खोज्नुको कुनै अर्थ नरहेको बताइरहेका छन् । ‘सहमति किन खोज्नु ?’, उनले भने, ‘अहिलेसम्म नेकपा एउटै छ । दलका नेताले गरेको कारवाही सदर हुनुपर्छ । सहमतिको अर्थ छ जस्तो मलाई लाग्दैन ।’

त्यसो त मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला मन्त्री हिक्मत कार्की संसद् चल्ने, अविश्वास सामना गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति बारम्बार दिइरहेका छन् । उनीहरुले यसो भन्ने तर प्रमुख सचेतक राजभण्डारीलाई अघि सारेर संसद् अवरोध गर्न लगाउने काम पनि उनीहरुले नै गरिरहेका छन् । ‘संसद् अझै अवरोध हुन्छ, अघि बढ्न दिइन्न’, प्रमुख सचेतक राजभण्डारी अझै पनि यसै भनिरहेका हुन्छन् ।

सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित सरकारको वार्षिकोत्सव कार्यक्रमको मञ्चमा मुख्यमन्त्री राई भन्दै थिए, ‘अविश्वासको प्रस्ताव ल्याउनु अराजकता हो । यसको सामना गरिनेछ ।’ तर, सोही कार्यक्रममा उपस्थित प्रमुख सचेतक राजभण्डारी सानो समूहमा छलफल गरिरहेका थिए । त्यहाँ उनी हाकाहाकी भन्दै थिए, ‘संसद् चल्न दिने कुरै छैन । हो–हल्ला गर्ने हो, पेलेर जाने हो ।’ सरकारी नेकपाभित्रको यही द्वैध मानसिकताको बन्धक प्रदेशसभा बनेको छ । मुख्यमन्त्री र मन्त्रीहरू भन्ने एउटा, काम गर्न लगाउने अर्को गरिरहँदा सत्ता पक्ष स्वयम् संसद् रोक्ने तिक्डममा सहभागी भइरहेको छ ।

आपसी छलफल गरेर सहमति खोज्न भन्दै प्रदेश १ सरकारले मागे जति समय दिँदै माघ २५ मा सभामुख प्रदीपकुमार भण्डारीले १४ दिन लामो संसद् स्थगनको घोषणा गरेका थिए । अरु दलहरूलाई चिढ्याउँदै सरकारको आग्रह स्वीकार्दा सभामुखको चौतर्फी आलोचनासमेत भएको थियो । तर, अहिलेसम्म सरकारी पक्षले सदन सुचारु गर्ने कुनै उपाय खोजेको छैन । उल्टै बैठक रोक्ने बहाना खोज्न लागिपरेको छ । यसबारे प्रदेशसभा सचिवालय पनि जानकार छ । ‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले संसद्लाई धोका दिएको देखिन्छ’, प्रदेशसभा उच्च स्रोतले हाम्रोमतलाई भन्यो ‘विवाद सत्तारुढ दलभित्र छ । यतिका दिनसम्म त्यो विवाद मिलाउने प्रयास सरकारले गरेन ।’

नेकपाको प्रचण्ड नेपाल पक्षका नेताहरू सरकार र मुख्यमन्त्री शेरधन राईले सकेसम्म संसद् छल्ने प्रयास गरेर सत्ताको आयु लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाइरहेको छ । ‘सरकार संसद्बाट भागेर आफ्नो आयु लम्ब्याउने निर्लज्ज खेलमा सहभागी भइरहेको छ’, सो समूहका नेता राजेन्द्र राई भन्छन्, ‘यस्तोमा सरकारी पक्षबाट अपेक्षा गर्नु व्यर्थ छ ।’ मुख्य विपक्षी काँग्रेसका प्रमुख सचेतक केदार कार्की सरकार नांगो रूपमा पेश भएको बताउँछन् । उनलाई सहयोग माग्दै मन्त्री हिक्मत कार्की धेरैपटक उनको निवासमै पुगिसकेका छन् । तर, काँग्रेसले सहयोग गर्न नसक्ने बताएपछि सरकार आफ्ना सांसदमार्फत सदन चल्नै नदिने रणनीतिमा लागेको छ ।

अविश्वासको प्रस्तावको पक्षमा उभिने संकेत काँग्रेसले देखाएपछि शेरधन राई र उनको पक्ष आत्तिएको छ । त्यसैले सकेसम्म संसद् छल्ने, अनेक बहाना गरेर बैठक रोक्ने काममा लागेको छ । यसलाई संसद्का सबै विपक्षी दलले सरकारको निर्लज्ज काम भनेर आलोचना गर्दै आएका छन् ।

बुधबार, ०५ फागुन, २०७७, बिहानको ११:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर