विराटनगर । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाई दिने जिल्ला अदालत सुनसरीको फैसलासँग असन्तुष्ट जिल्ला सरकारी वकिलको कार्यालयले त्यसविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।
आफ्नै महिला अनुयायी माथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै अदालतले सफाइ दिएको थियो । ‘अपहरण गरेर, शरीर बन्धक बनाएर जबरजस्ती गरेको नदेखिएको’ ‘अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको’, ‘सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने’ जस्ता शब्दावलीसहितको फैसलाले पीडितलाई झनै पीडित बनाएको तर पीडकलाई उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यहीबेला सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने जनाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता नारायण रिमालले यो फैसला उपर पुनरावेदन गर्ने सम्भावना बढी भएको बताएका छन् । यद्यपि अदालतको फैसलाको पूर्णपाठ कार्यालयमा आइनसकेको उनले बताए ।
‘फैसला आएको कुरा मैले सञ्चारमाध्यममार्फत थाहा पाएको हुँ, म अहिले काठमाडौंमा छु’, उनले भने ‘अब बुधबार कार्यालय पुगेर फैसला र मिसिल जुधाएर हेर्ने हो । त्यसपछि के गर्ने निर्णय हुन्छ । हामीले पुनरावेदन गर्ने निश्चित जस्तै छ ।’ फैसलाको पूर्ण पाठ उपलब्ध भएपछि मात्रै त्यो निर्णयमा पुग्ने उनले बताए ।
आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उनलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसबेला एकतर्फी बहस गरेर उनलाई सफाइ दिइएको भन्दै सरकारी वकिलको कार्यालयले असन्तुष्टी जनाएको थियो । माघ २९ मा न्यायाधीश अर्जुनप्रसाद कोइरालाले तयार पारेको फैसलाको पूर्णपाठमा सरकारी वकिलको कार्यालय झनै असन्तुष्ट रहेको कार्यालय स्रोतको भनाइ छ । फैसला चित्त नबुझे पुनरावेदन गर्ने न्यायिक समाधानको बाटो आफूले समाउने कार्यालय स्रोतको भनाइ छ ।
न्यायाधीश कोइरालाले माघ २९ मा प्रमाणीकरण गरेको फैसलाको पूर्णपाठमा अपहरण गरी वा शरीर बन्धक बनाएर जबरजस्ती करणी गरिएको भन्ने भनाइ जाहेरवालीको नभएको र जबरजस्ती करणी भन्न मिल्ने आधार नदेखिएको भन्दै सहमतिमा यौन सम्बन्ध देखिएको फैसलामा उल्लेख छ । तर, गिरीले भने यौनसम्बन्ध भएको कुरासमेत अस्वीकार गरेको तर म्यासेजहरुबाट त्यस्तो नदेखिएको अदालतको ठहर छ ।
बिचरा सिद्धबाबाको पो बलत्कार भएछ, वहाँ त स्त्री र अग्नीको छेउमा जानुहुन्न थियो ।