विराटगनर । आफन्तबाटै यौन शोषणमा परेकी १३ वर्षे बालिका अलपत्र अवस्थामा भेटिएकी छन् । आफन्तबाट यौन शोषणमा परी छोरी गर्भवति भएको चाल पाएपछि उनका बाबु भारततर्फ फरार भएका छन् ।
भारतको सीतामढी घर भएकी बालिकालाई बाबुले नेपाल ल्याएर अलपत्र छोडेर हिडेका हुन् । ती बालिका उनै भाउजुका भाइबाट यौन शोषणमा परेको बताइएको छ । बालिका ७ महिनाको गर्भवति भएको खुलेको छ । उनी गर्भवति भएको खुलेपछि भारतबाट सुनसरीको भान्टाबारी नाका हुँदै बाबुछोरी नेपाल प्रवेश गरेका थिए । बालिकाको बाबुले छोरीलाई भाण्टाबारीमा छोडेर फरार भएपछि बालिकालाई अलपत्र अवस्थामा फेला पारिएको थियो ।
समाजमा इज्जत जाने डरले उनले छोरीलाई नेपाल ल्याएर अलपत्र छोडेको आशंका गरिएको छ । सामाजिक कुरीतिका कारण छोरी भन्दा इज्जत प्यारो ठान्दै भारतीय नागरिकले आफ्नै छोरी अर्को देशमा लगेर बाबु फरार भएका हुन् ।
सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोरीलाई अलपत्र अवस्थामा छोडेर बुवा भारत फरार भएको मोरङ प्रहरीले जनाएको छ ।
बालिका माघ २९ गते फेला परेकी थिइन । अलपत्र अवस्थामा रोइरहेको बालिकालाई राति ९ बजेतिर प्रहरीले फेला पारेर उद्दार गरेको थियो । ती बालिका अहिले विराटनगर १२ स्थित स्वयंमसेवी संस्था एबिसी नेपालको संरक्षणमा छन् ।
७ महिनाको गर्भ
प्रहरीले उद्दार गरी संरक्षणका लागि संस्थामा ल्याएकी बालिकाको शुक्रबार कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँचका क्रममा बालिकामा २८ हप्ताको गर्भ रहेको पाइएको छ ।
बालिकाले आफ्नै भाउजुको भाइबाट गर्भ बसेको बयान दिएकी छन् । गाउँसमाजमा ईज्जत जाने डरले बुवाले नेपाल ल्याएर छोडिदिएको हुनसक्ने एबिसी नेपालकी प्रमुख बिष्णु शर्माले बताउनुभयो ।
अभिभावकको खोजी
संरक्षण गरेर ल्याएपछि भारतको फारबिसगञ्जस्थित जागरण कल्याण भारती संस्थाको सहयोगमा एबिसीले शुक्रबारदेखि नै बालिकाको अभिभावकको खोजी कार्य थालेको छ । मोरङ प्रहरीले पनि बालिकाको अभिभावकको पहिचानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको छ । भारतीय प्रहरीले बालिकाको पारिवारिक सम्पर्क पहिचान गरिसकेको र छिट्टै उनीहरुको सम्पर्कमा पुग्ने भारतीय प्रहरीले आश्वासन दिएको बताइएको छ । भारतीय प्रहरीले बालिकाको बाबुआमाको आधार कार्ड पहिचान गरेको बताइएको छ ।
बालिकालाई भारतकै सामाजिक संस्था मार्फत् उनको परिवारकोे जिम्मा लगाउने तयारी भइरहेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खडकाले बताउनुभयो ।
७ महिनाकी गर्भवती बालिकाको स्वास्थ्य अवस्था भने कमजोर र जोखिमपूर्ण रहेको बताइएको छ । शरीरमा रगतको मात्रा कमी रहेको र गर्भपतन गराउने अवस्था नरहेको कोशी अस्पतालले जनाएको छ । नेपालमा १२ हप्ता भन्दा बढीको गर्भपतन गैह्रकानूनी मानिन्छ ।