सरकार गठनको तीन वर्ष पुरा

प्रदेश सरकारको निराशाजनक कार्यक्रम

२३२ वटा उपलब्धी सार्वजनिक गर्ने समारोहमा ९३ मध्ये ८० जना सांसद नै अनुपस्थित, निजी क्षेत्रको निराशाजनक उपस्थितिले कार्यक्रम नै फितलो, कार्यक्रममा मन्त्री र कर्मचारीमात्रै

विराटनगर । प्रदेश सरकार गठनको ३ वर्ष अवधि पूरा गरेको अवसरमा सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषदको कार्यालयमा एक कार्यक्रम आयोजना भयो । तर, कार्यक्रममा मुख्यमन्त्री शेरधन राईपक्षकै सांसदको अनुपस्थिति थियो ।

मुख्यमन्त्री राई पक्षकै सांसदहरू अनुपस्थिति रहेको कार्यक्रममा नेकपा बहुमत पक्ष (प्रचण्ड–माधव)का सांसदहरुले त घोषणा गरेरै कार्यक्रम बहिष्कार ग¥यो । कांग्रेसका तर्फबाट चार जना सांसदको उपस्थिति थियो भने नेकपाका अन्य ९ जना सांसदको उपस्थिति थियो । तर, कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले आफूहरुको कार्यक्रमसँग जुधाएर कार्यक्रम राखेको कारण आफूहरु सल्लाह गरेरै नगएको बताउनु भयो ।

नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता भएर सरकारको वैधानिकता समाप्त भइसकेको हुँदा नैतिकताको आधारमा आफूहरु कार्यक्रममा सहभागी हुन नसकेको बताउनु भयो ।

यता, जनता समाजवादी पार्टीका जयराम यादव कार्यक्रममा सहभागी भएपनि कार्यक्रम फितलो भएको भन्दै बीचैमा उठेर हिंड्नु भएको थियो । २३२ वटा उपलब्धी सार्वजनिक गर्ने समारोहमा १३ जना सांसद मात्रै उपस्थित हुुनु र निजी क्षेत्रको निराशाजनक उपस्थितिले कार्यक्रम नै फितलो (असफल) देखिन्थ्यो । ‘सरकारले उपलब्धीको रुपमा जसरी व्याख्या गरेको छ, जनताले त्यो अनुभूति गरेका छैनन्,’ यादवले भन्नुभयो ।

दुई सय मानिस अट्नेगरी बनाइएको समारोहस्थलमा कर्मचारीहरुको उपस्थिति मात्रै देखिन्थ्यो । त्यसका अलावा निजी क्षेत्रबाट विराटनगरका उद्योगीहरु भीम घिमिरे, प्रकाश मुन्दडा, नविन रिजाल र सुजन थापाको मात्रै उपस्थिति थियो । निमन्त्रणा गरेअनुसार विराटनगरका उच्च घरानाका उद्योगी, बुद्धिजीवि, समाजसेवी तथा लब्ध प्रतिष्ठित व्यक्तिहरु समारोहमा उपस्थित देखिएनन् ।

कार्यक्रमको अवसरमा प्रदेश प्रमुख सोमनाथ प्यासी, मुख्यमन्त्री शेरधन राईलगायतले सार्वजनिक गर्नुभएको गोजी पुस्तिकामार्फत सरकारका २ सय ३२ बुँदे उपलब्धि सार्वजनिक गर्नुभयो । उपलब्धीमा ४९ वटा मूल ऐन, २२ वटा नियमावली, १० वटा निर्देशिका, २८ वटा कार्यविधि निर्माण गरिसकेको उल्लेख छ ।

सोमबार, ०३ फागुन, २०७७, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर