क्षतिपूर्ति माग्दै अरुणको काममा अबरोध

संखुवासभा । संखुवासभामा अरुण तेस्रो आयोजनामा कार्यरत ठेकेदार कम्पनी जेपी एसोसियटको टिपरको ठक्करले मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्ति माग्दै अरुण तेस्रोको काम ठप्प पारेका छन् ।

उत्तर–दक्षिण कोसी राजमार्गमा शनिबार पनि अवरुद्ध पारेर भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिएपछि मृत्यु भएका राईको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने माग गरिएको हो ।

आफन्त र छिमेकीले क्षतिपूर्ति माग राख्दै शवसमेत उठाएका छैनन् । उनीहरुले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

जिल्लाको फ्याक्सिन्दामा अरुण तेस्रोको बाँध र पावरहाउस जाने सुरुङ निर्माणाधीन अवस्थामा छ । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च बेहोर्न माग गर्दै जलविद्युत आयोजनाको काम ठप्प पारेका छन् ।

भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीलाई उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

प्रहरीले टिपर चालक काभ्रे नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपरलाई नियन्त्रणमा लिइसकेको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ कार्यालय सहयोगी थिए भने गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् ।

टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुनः टिपरले पेलेर राईको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

आइतबार, ०२ फागुन, २०७७, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर