धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउनुहुने भएको छ ।
फागुन १ गते दिनको ११ बजेबाट धनकुटामा हुने विरोधसभा हुने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाले आयोजना गर्न लागेको विरोधसभामा ३ हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ । विरोधसभाको तयारी गर्ने काम भइरहेको नेकपा धनकुटाका प्रचार विभाग प्रमुख अर्जुन राईले जानकारी दिनुभयो ।
विरोधसभामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालसहित पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, प्रदेश १ का इन्चार्ज भीम आचार्य, सह इन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश १ अध्यक्ष घनेन्द्र बस्नेत, सचिव सुरेश कुमार राई र केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख राईले जानकारी दिनुभयो ।