तस्करको आक्रमणबाट असईको नाक भाँचियो

‘तस्करीको डिजेल बरामद गरेपछि साहले प्रहरी सहायक निरीक्षक माझीको ज्यान लिने उद्देश्यले आक्रमण प्रयास’

विराटनगर । मोरङको पूर्वी दक्षिण क्षेत्रदेखि भारततर्फ डिजेल तस्करी भइरहेको सूचना पाएपछि नियन्त्रण गर्न गएका मझारे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रामकुमार माझी घाइते हुनुभएको छ । डिलेज तस्करी गर्ने समूहले माझीलाई शनिबार राति आक्रमण गरी घाइते बनाइदिएका हुन् ।

माझीको नाकको हाड भाँचिएको छ भने दुवै आँखामा चोट लागेको छ । ओठ काटिएको छ भने अनुहार र विभिन्न भागमा चोट लागेको छ । घाइते माझीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

डिजेल तस्करी भइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलमा पुगेको बेला उहाँमाथि आक्रमण भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

माझीले जहदा गाउँपालिका ५ लक्ष्मीनीयाको एनसेल टावरनजिक को १४ प ७६३ नम्बरको मोटरसाइकलमा डिजेल बोकेर गइरहेको तस्कर समूहलाई रोक्न खोज्नुभएको थियो । त्यही बेला मोटरसाइकल चालक जहदा ७ का २१ वर्षे बब्लु साहले आक्रमण गरेका हुन् ।

साह त्यस क्षेत्रबाट हुने डिजेल तस्करको नाइके हुन् । साहले भरिया प्रयोग गरि मोरङको पूर्वी दक्षिण सीमा नाका हुँदै डिजेल तस्करी गरि भारत तर्फ लैजाने गरेका छन् ।

‘तस्करीको डिजेल बरामद गरेपछि साहले प्रहरी सहायक निरीक्षक माझीको ज्यान लिने उद्देश्यले आक्रमणको प्रयास गरेका थिए,’ डिएसपी राईले भन्नुभयो, ‘तर माझीको मद्दतका लागि आएका प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएर उद्धार भयो ।’

डिजेल तस्करी भइरहेको सूचना आएपछि माझीले तत्काल कार्यालयको बा २ ब ५६२८ नम्बरको मोटरसाइकलमा हतियारै नबोकी घट्नास्थल पुगेका थिए । साहले मोटरसाइकलमा ५०÷५० लिटरको तीन वटा ड्रममा १ सय ५० लिटर डिजेल भारततर्फ लगिरहेका थिए ।
पक्राउ परेका साहले भने अरुनै ठानेर आक्रमण गरेको बताएका छन् ।

डिजेल, पेट्रोल नेपालभन्दा भारतमा महँगो भएकाले शुरक्षाकर्मी, पेट्रोल पम्प र नेपाल आयल निगम प्रदेश १ कार्यालयको सेटिङमा तस्करी हुँदै आएको छ ।

सांकेतिक तस्बिरः गुगल

सोमबार, २६ माघ, २०७७, बिहानको १०:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर