उद्योग सङ्गठनको कर्मशील डटकम सञ्चालन

विराटनगर । उद्योग सङ्गठन मोरङले रोजगारदाता र बेरोजगारबीच सम्पर्क गराउन ‘कर्मशील डटकम नामको जब पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

इनसियोर परियोजनाका सहयोगमा उद्योग सङ्गठनले बिहिबारदेखि जब पोर्टल सञ्चालनमा ल्याएको हो । उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आफ्नो कम्पनीमा आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता र प्रकारका बारेमा पोर्टलमा उल्लेख गर्नसक्ने जानकारी दिनुभयो । बेरोजगार व्यक्तिहरूले पनि आफ्नो आइडी र सम्पर्क नम्बरसहित आफूले काम गर्न चाहेको क्षेत्र, आफ्नो सीप, दक्षता, योग्यता र अनुभवका बारेमा पोर्टलमा उल्लेख गर्न सक्नेछन् ।

यसबाट उद्योग–प्रतिष्ठानले आफूले चाहेका योग्यता र दक्षताका कामदार तुरुन्त ‘हायर’ गर्नसक्ने बताइएको छ । प्रदेश नम्बर १ का प्रमुख सचिव दिनेश भट्टराईले पोर्टलको शुभारम्भ गर्नुभएको छ ।

मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाले नेपालमा दक्ष प्राविधिक जनशक्ति नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता हटाउन यस्तो पोर्टल सहयोगी बन्नसक्ने बताउनुभयो । इनसियोर परियोजनाका टिम लिडर सुवास सुवेदीले नेपाल र स्विस सरकारका सहयोगमा सञ्चालित इनसियोरले नेपालका उद्योग–प्रतिष्ठानको सुसञ्चालनका लागि सहजीकरणको भूमिका गरिरहेको जानकारी दिनुभयो ।

शुक्रबार, २३ माघ, २०७७, बिहानको १०:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर