विराटनगर । कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागी सरकारले गत चैत्र ११ देखि बन्द गरेको अन्तराष्ट्रिय सीमा नाकाहरु आवश्यक शर्त सहित खुुल्ला गरेको छ ।
सरकारले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु खुल्ला गरेको हो । गृह मन्त्रालयले बिहीबार भारत र चीनसँग प्रत्यक्ष सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । निर्देशन अनुसार बिहीबारदेखि देशभरि भारतसँग सीमा जोडिएका २८ र चीनसँग सीमा जोडिएका २ सीमा नाकाहरु खुलेका छन् ।
कोरोना महामारीका कारण गत चैत्रको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा नाकाहरु सहित आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरेको थियो । दुई महिनायता हवाई सेवा सञ्चालनमा आईसकेपनि सीमा नाकाहरु बन्द थिए । सीमा नाकाबन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधी उपचार र आफन्त भेटघाट लगायतका कार्यहरु प्रभावित भएको भन्दै जनस्तरबाट पनि सीमानाका खोल्न दबाब आईरहेको अवस्थालाई मध्यनजर गर्दै गत माघ ११ गते बसेको मन्त्रिपरिषदको बैठकले आवश्यक शर्तसहित नाका खोल्नुपर्ने निर्णय गरेको थियो । बिहीबार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्दै गृह मन्त्रालयले सीमानाकाहरु खोल्न देशभरका २५ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो ।
निर्देशन अनुसार नेपाल, भारत र चीनका आम नागरिकहरुले अति आवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाईटमा राखिएको अनलाईन फर्म भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउनेछन् । अनलाईन फर्म भरेपछि प्राप्त हुने बारकोड सहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले आवागमन गर्न पाउने गरि सरकारले निर्देशन गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनुभयो । उहाँले सामान्य अवस्थामा जस्तो किनमेल र घुमफिरकै लागी भने नाका नखोेलिएको जानकारी दिनुभयो ।
यस्तै अहिले नयाँ स्वरुपको भाईरस देखिएको ठाउँबाट आउने नागरिकहरुले ७२ घण्टाभित्रको पिसिआर परिक्षणको रिपोर्ट पनि साथमा लिएर आउनुपर्ने सरकारकोे शर्त रहेको सहायक प्र.जि.अ धुव्र बहादुर खड्काले स्पष्ट पार्नुभयो ।
सरकारी निर्देशनसँगै हाल ईलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर तथा बंकुल, पर्साको विरगञ्ज, रसुवाको रसुवागढी, रुपन्देहीको वेलहिया, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको खलंगा तथा पुलाघाट, बैतडीको झुलाघाट, सुनसरीको भन्टाबारी र सप्तरीको कुनौली नाका खुलेका छन् ।
यस्तै धनुषाको जटही तथा ईनरुवा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, बाराको मटिअर्वा तथा सिम्रौनगढ, पुर्वी नवलपरासीको त्रिवेणी, पश्चिमी नवलपरासीको महेशपुर, कपिलवस्तुको तौलिहवा तथा कृष्णनगर, दाङको कोईलाबास, बर्दियाको सुरजपुर र सिन्धुपाल्चोकको तातोपानी नाका पनि खुल्ला भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलका अनुसार सीमानाकाबाट आवतजावत गर्ने नेपाली नागरिकहरुको हकमा भने सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रिन दिने व्यवस्था मिलाएको छ । स्वास्थ्य परिक्षणमा केही लक्षण देखिए उनीहरुलाई तत्कालै क्वारेन्टाईनमा राखिने सरकारको तयारी छ । भारतीय नागरिकहरुको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेर मात्र नेपाल प्रवेश दिने जनाईएको छ ।
Fake News agency
मात्र न्यूज मा खुले को छ वास्तविक मा खुले को छन।