मूल पार्टी यही हो : नेपाल, ओली भष्मासुर भए: खनाल

विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नेतृत्व गरेको नेकपा नै मूल पार्टी भएको दाबी गर्नुभएको छ ।

विराटनगरमा प्रतिनिधिसभा विघटनको विरुद्धमा आयोजित विरोध सभामा नेपालले यस्तो बताउनु भएको हो । ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए ?’, नेपालले भन्नुभयो, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’

प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको पनि नेपालले बताउनु भयो । ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भन्नुभयो, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ ।

पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’ उहाँले प्रधानमन्त्री ओलीले ओहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताउनु भयो ।

सोही सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आफूहरुको विरोधीले नेकपा हेर्न सडकमा आउनुपर्ने बताउनु भयो । ‘वास्तविक नेकपा हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सडकमा आउनुपर्छ,’ उहाँले भन्नुभयो ।

‘केपी ओली भ्रस्मासुर भएर निस्किनुभयो । संसद् विघटन गरेर ओलीले राष्ट्रमाथि घात गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘ओली प्रतिगामी र विश्वासघाती निस्किए ।’

 

यसैगरी उहाँले आफूहरूसँग केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा दुईतिहार सदस्य भएको उल्लेख गर्दै वास्तविक नेकपा आफ्नो समूह भएको पनि बताउनु भयो । ‘केपी ओलीले पार्टी फुटाएर फुट्ने होइन । नेकपा फुटेको पनि छैन । यहाँबाट केही मान्छे निस्किए भन्दैमा नेकपा टुक्रिएको भन्ने नठानौं । सत्ताको लोभमा र पैसाको लोभमा कोही जाँदैमा पार्टी फुट्छ भन्ने पनि नठानौं । बालुवाटारमा गुट बैठक बस्दैमा नेकपा भइन्छ भन्ने पनि छैन,’ उहाँले भन्नुभयो ।

शुक्रबार, १६ माघ, २०७७, रातीको ०९:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर