लोड हुँदैछ...

मेनु

आयोगमा आधिकारिकताको दावी गर्छौं : खनाल

आयोगमा आधिकारिकताको दावी गर्छौं : खनाल

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा दावी गर्ने बताउनुभएको छ ।

बिहीबार अपरान्ह विराटनगर पुग्नुभएका वरिष्ठ नेता खनालले कानून बमोजिम निर्वाचन आयोगमा पार्टीले आधिकारिकता दावी गर्ने बताउनुभएको हो ।

नेकपाका दुई तिहाई केन्द्रीय सदस्यहरु भएको पार्टी नै आधिकारिक भएको दावी गर्दै उहाँले आवश्यक परेमा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम आधिकारिकताको दावी गर्ने उहाँको भनाई थियो ।

निर्वाचन आयोगले नेकपा भित्रको विवाद टुंगो नलगाई निर्वाचन प्रकृया सुरु गरेको विषयमा सोधिएको प्रश्नमा नेता खनालले आयोगले आफ्नो काम गर्ने र पार्टीले आफ्नै काम गर्ने बताउनुभयो ।

नेपालको संविधानले मध्यावधि निर्वाचनको कल्पना नगरेको भन्दै वरिष्ठ नेता खनालले भन्नुभयो ‘नेपालमा आवधिक चुनाव मात्र हुन्छ । मध्यावधि भन्ने नै हुँदैन । अन्तराष्ट्रिय परम्परा पनि आवधिक निर्वाचन गर्ने नै हो । बेलायतमा पनि अहिले संसद विघटन गरेर मध्यावधि निर्वाचन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छैन, क्यानडामा पनि छैन । त्यसैले यो अन्तराष्ट्रिय परम्परा पनि होइन । नेपालमा पनि प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि चुनाव गर्ने अधिकार संविधानले दिएको छैन ।’ उहाँले संसद विघटन संसदले चाहेमा भने गर्न सक्ने अन्तराष्ट्रिय अभ्यास रहेको बताउनुभयो ।

अहिले निर्वाचनमा जानु भनेको तानाशाही व्यवस्था लाद्नका लागि उनीहरुको कदममा ठप्पा लगाउनु झैं हुने उहाँको भनाई थियो । जनताको आन्दोलनबाट देशमा गणतन्त्र, संघीयता, समावेशीता, संविधान प्राप्त भएकोमा प्रधानमन्त्रीले ती सबैलाई ध्वंश गर्ने प्रयत्न गरेको उहाँको आरोप थियो । नेपाली जनताले ध्वंश गर्ने ओलीको प्रयत्नलाई रोक्ने उहाँको भनाई थियो । नेकपा विभाजन नभई मिल्नसक्ने सम्भावना सुन्य भएको भन्दै उहाँले इतिहासमा कोपी ओली भष्मासुर र धुन्धुकारीको रुपमा जन्मिएको आरोप पनि लगाउनुभयो ।

नेपाली नजताले राष्ट्रको पक्षमा, सार्वभौमसत्ता र अखण्डताको पक्षमा निरन्तर आन्दोलन गर्नुपर्ने भन्दै उहाँले समाजवाद स्थापना भएपछि पनि यी सवालहरुमा संघर्ष जारी रहने उहाँको भनाई थियो ।

प्रदेश १ प्र्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको सन्दर्भमा उहााले लोकतन्त्रका, संविधान, र स्वतन्त्रताको पक्षमा भएका सबैसँग मिलेर अघि बढ्ने बताउनुभयो ।

उहाँले नेकपालाई बैचारिक, संगठनानात्मक रुपले सुदृढ गर्दै समाजवादको दिशामा अगाडि लैजाने भन्दै जनताको भविष्य सुनिश्चित नभएसम्म संघर्ष गरिरहने बताउनुभयो । उहाँले अहिलेको आन्दोलन नेपाली जनतालाई प्रधानमन्त्रीले गरेको गलत कदमका विषयमा बुझाउन र सार्वभौम सत्ता जनताको हातमा छ भन्ने जानकारी गराउन भएको जिकिर गर्नुभयो । आनदोलनलाई अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्ने अर्थमा बुझ्न नहुने भन्दै प्रतिनिधि सभा पुनसर््थापना अनिर्वाच हुने समेत बताउनुभयो । ‘अदालतले संविधान बमोजिम फैसला गर्छ,’ नेता खनालले भन्नुभयो ‘संविधानमा संसद विघटन गर्ने विशेष अधिकार प्रधानमन्त्रीलाई दिएको छैन त्यसैले पुनसर््थापना हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds