विराटनगर । सर्वोच्च अदालतमा दर्ता भएको प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधीश विरूद्ध अदालतको मानहानी गरेको मुद्दामा सुनुवाई सुरु भएको छ ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा दुवै मुद्दामा सुनुवाई सुरु भएको हो ।
गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश दर्ता गर्नुभएको थियो । यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि अपहेलनाको अर्को मुद्दा दर्ता गराउनुभएको थियो । ति मुद्दाहरुमा प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अभियोग लगाइएको छ ।
यस्तै, अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध दर्ता गरेको मानहानीको मुद्दामा पनि सुरु सुनवाई भएको छ ।
चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक भनेका थिए। उनीहरूले यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गरी ‘वर्तमान गतिरोधको अवस्था सुधार्न’ सम्बन्धित सबैको ध्यानाकर्षण गराएका थिए।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।