प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरका प्रबुद्ध समूह

ओलीले प्रधानमन्त्री चलाउन नजानेको ठहर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको विघटनविरूद्ध संघर्ष गर्न भन्दै विराटनगरका ११० प्रबुद्ध नागरिकहरुले समिति निर्माण गरेका छन् ।

वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलका नेतृत्वमा गठन भएको प्रबुद्ध नागरिक अभियान समितिमा प्राध्यापक, अधिवक्ता, पत्रकार तथा अन्य पेशाका १ सय १० सदस्य छन्।

विराटनगरस्थित जनआन्दोलन चौकमा खुला पत्रकार सम्मेलन गर्दै समितिका संयोजक प्राध्यापक पोखरेलले समितिले प्रतिनिधिसभाको विघटनका विरूद्ध विचार गोष्ठी, विरोध जुलुस, धर्नालगायतका कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

उहाँले अहिलेको समयमा सत्य र असत्य, न्याय र अन्याय तथा इमान र बेइमानका बिचमा लडाइँ भइरहेको स्पष्ट पार्दै यस्ता बेलामा पेशाकर्मी बौद्धिक नागरिकहरू चूप लागेर बस्न नसक्ने धारणा राख्नुभयो ।

प्राध्यापक पोखरेलले व्यक्ति केपी ओलीले कोठाभित्र बोल्दा जेसुकै बोले पनि प्रधानमन्त्रीका हैसियतबाट बोल्दा होस् पुर्‍याउनुपर्ने बताउनु भयो। ‘प्रधानमन्त्रीले जे बोले पनि उहाँका गुटका मानिसहरुले वाहवाह गरिदिएको देखिन्छ,’ पोखरेलले भन्नुभयो, ‘त्यही कारण अझ अगाडि बढेर प्रधानमन्त्री सस्ता र अभद्र अभिव्यक्ति दिन थाल्नुभएको छ ।’

‘आफ्नै दम्भ र निरङ्कुश प्रवृत्तिका कारण आफ्नै दलभित्रको आन्तरिक मतभेद व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले असंवैधानिक ढङ्गले हठात् प्रतिनिधि सभाको विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका छन्,’ उहाँले भन्नुभयो, ‘यो कृत्यले मुलुकमा राजनीतिक अन्यौलता, अस्थिरता उत्पन्न भएको छ। जनअभिमतमाथि खेलबाड भएको छ। ओलीले दुई तिहाइका लागि चुनाव भनेका छन्। उनले दुई तिहाइ आउने नदेखेसम्म चुनाव गराउने छैनन्।’

अर्का वक्ता एवम् अर्थशास्त्री प्राध्यापक डाक्टर पीके झाले कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्न नपाउने जिकिर गर्दै ओलीले स्वेच्छाचारी ढङ्गले शासन चलाएको हुँदा मन्त्रिपरिषदको विस्तार गरिरहेको बताउनु भयो । झाले छिमेकी चिन र भारत विश्वमै ठूला आर्थिक साम्राज्य भइरहेका बेला ओलीले नेपालमा निम्त्याएको अस्थिरताले यहाँ ठूलो आर्थिक उथलपुथल हुने जिकिर गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले जोकर बोल्दैछन् कि प्रधानमन्त्री भनेर संवाददाताहरूलाई छुट्याउन गाह्रो पर्न थालेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले पत्रकार, वकिल, न्यायाधीश लगायत आफूसित विमति राख्ने हरेक पेशाकर्मीउपर दुर्वाच्य बोलिरहेको आरोप लगाउँदै जोकर प्रधानमन्त्रीलाई अहिले र भविश्यमा पनि आउन नसक्ने गरी हटाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

बुधबार, १४ माघ, २०७७, दिउँसोको ०३:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर