विराटनगर । आजदेखि प्रदेश १ का ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ ।
प्रदेश १ मा मोरङस्थित विराटनगरको कोशी अस्पतालका सुपरिटेण्डेन चुमनलाल दासलाई उक्त कोभिशिल्ड खोप लगाएर सुरु गरिएको हो । दोस्रो नम्बरमा कोशी अस्पतालकै फिजिसियन डाक्टर दिपक सिग्देललाई पनि खोल लगाइएको थियो । खोप लगाएपछि प्रतिक्रिया दिँदै डाक्टर सिग्देलले खोपले कुनै साइड इफेक्ट नगर्ने बताउनु भयो । औपचारिक कार्यक्रममा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।
यो खोप पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइने छ । आज पहिलो चरणमा ५८२ जना डाक्टरलाई खोप लगाउने तयारी गरिएको छ । मोरङ र सुनसरीमा ४/४ वटा खोप केन्द्र तय गरिएको छ भने झापामा ३ वटा खोप केन्द्र तय गरिएको छ ।
देशभर सुरु हुँदै खोप अभियान
आजबाट सुरु भएको कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।
नेपाल सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने यसअघि नै बताइसकेको छ ।
कसले नलगाउने ?
यो खोप बायाँ पाखुरामा लगाइन्छ । कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुर्याइसकिएको छ ।