विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा तेश्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ १६ गते सहिद दिवसका दिन विराटनगरमा जनप्रदर्शन गर्ने भएको छ ।
माघ १६ गतेको प्रदर्शनलाई प्रदेशस्तरीय बनाउने तयारी उक्त पार्टीले थालेको छ । विराटनगरमा प्रदेश १ कमिटीकै आयोजनामा हुने जनप्रदर्शन र आमसभालाई पूर्वप्रधानमन्त्री नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नुहुने बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रतिगमनलाई परास्त गर्न र प्रतिनिधि सभा पुनसर््थापना गर्न देशव्यापी आन्दोलन र प्रदर्शन गर्दै आएको छ । विराटनगरमा हुने प्रदर्शनमा ५० हजार जनता उतार्ने तयारी गरेको जानकारी उक्त पार्टीले दिएको छ ।
विराटनगरस्थित जनआन्दोलन चोकमामा मध्यान्ह १२ बजे आमसभा आयोजना गरिने र त्यस अघि जुलुससहित नगरपरिक्रमा गरेर प्रतिगमन विरुद्ध नाराबाजी गर्ने कार्यक्रम तय गरिएको छ ।