विराटनगर । नेकपाकी नेतृ एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विदेशीको गोटी बनेर ऐतिहासिक पहिलो संविधानसभा विघटन गर्ने र अहिले प्रतिनिधिसभा विघटन गर्ने पात्र केपी ओली भएको आरोप लगाउनुभएको छ ।
आइतबार विराटनगरमा अनेरास्ववियु मोरङको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीकै अगुवाईमा विगतमा संविधानसभा र अहिले प्रतिनिधिसभा विघटन गरेकोले उनी इतिहासका नालायक पात्र भएको दावी गर्नुभयो ।
ओली नवतानाशाहको शैलीबाट अघि बढेको भन्दै झाक्रीले निरंकुश, स्वेच्छाचारी लहड र सनक नै उहाँको पहिचान भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले जनता र जनताको प्रतिनिधिमुलक संस्थाहरुलाई पटक–पटक ढाँट्ने काम गरिरहेको भन्दै उहाँले संसदमा झुट बोल्ने प्रधानमन्त्री कारवाहीको भागिदार भएको बताउनुभयो । ‘संसदलाई उहाँले पटक–पटक ढाँट्नुभएको छ । ३ वर्षमा ९ पटक संसदमा उपस्थित हुनुभएको र झुटका पुलिन्दाहरु मात्र सुनाउनुभएको छ,’ झाँक्रीले भन्नुभयो ‘संसदमै झुट बोले विदेशमा नैतिक रुपमा छोड्थे तर हाम्रा प्रधानमन्त्रीलाई त्यसको लज्जा छैन ।’
प्रतिनिधिसभा विघटन गर्नेे कदमबाट नेपालमा केशरजंग रायमाझीको इतिहासको पुनरावृत्ति भएको भन्दै झाक्रीले प्रधानमन्त्रीलाई देश र जनताप्रति कुनै मतलव नभएको टिप्पणी गर्नुभयो । ‘हाम्रा प्रधानमन्त्रीलाई अरु केही पनि चाहिएको छैन,’ झाँक्रीले भन्नुभयो ‘उहाँलाई केवल राष्ट्रपति विद्या भण्डारी र मदन भण्डारी फाउण्डेसन मात्र चाहिएको छ । जसबाट उहाँको निरंकुश कदम र गैह्रकानूनी आर्थिक गतिविधि निर्वाध चल्नसक्छ ।’
प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमको समर्थन गर्ने समूहले साइबर सेना बनाएको भन्ने विषयमा पनि नेतृ झाँक्रीले कटाक्ष गर्नुभएको छ । उहाँले प्रश्न गर्नुभयो ‘साइबर सेनाको काम के हो ? फरक बिचार राख्नेको चरित्र हत्या गर्नेबाहेक त्यसले के काम गर्छ ?’
नेकपा नेतृ झाँक्रीले प्रधानमन्त्री ओली गफाडी मात्र भएको आरोप पनि लगाउनुभयो । ‘प्रधानमन्त्रीले जनता ढाँट्नु भनेको दहीचिउरा खाएजस्तै हो । अहिले पनि तुइन झुन्डिएका छन् । रेल कहाँसम्म आयो ? आएको रेल त त्रिपाल ओढेर बसेको छ, उहाँले भन्नुभयो ‘पानीजहाजको टिकट काउन्टर कहाँ छ ? बेसार, ल्वाङ, बाइबल र माक्र्सवादको समेत गफ दिएर ढाँटने गर्नुभएको छ ।’ प्रधानमन्त्रीको गफ सुनेर लज्जासमेत लजाउने अवस्था रहेको उहाँको भनाई थियो ।
समयमै प्रधानमन्त्री ओलीको गलत कदमलाई नरोकेर पार्टीका अरु नेताहरुले पनि गम्भीर गल्ती गरेको झाक्रीको आरोप थियो । ‘आजको दुर्दशाको जिम्मेवार हाम्रा अरु नेताहरु पनि हुन्, समयमै ओलीको गलत क्रियाकलाप नियन्त्रण नगरेकै कारण नव तानाशाहको उदय भएको हो,’ नेतृ झाँक्रीले भन्नुभयो ‘वैशाख ८ गते अध्यादेश ल्याएर दल विभाजनको प्रयत्न गरेपनि नै किन तपाईंहरुले कारवाही गर्नुभएन ? किन अहिले पनि सरकारका मन्त्रीहरुलाई बहिष्कार गर्ने निर्णय गर्ने आँट गरिरहनुभएको छैन ?’
प्रतिनिधिसभा विघटनपछि पार्टीमा डरलाग्दा अवसरवाद देखापरेको भन्दै नेतृ झाँक्रीले चिन्ता व्यक्त गर्नुभएको छ । ‘झण्डा र चिन्ह के हुन्छ भनेर साथीहरु निर्णय गर्न नसकेर बसिरहनुभएको छ,’ उहाँले भन्नुभयो ‘के चिन्ह पहिल्यै ढुंगामा कुँदिएर आएको हो ? अनि भोली चिन्हको पछाडि सति जानेकी कम्युनिष्ट बिचार आदर्श र सत्यको पक्षमा एक्लै भएपनि लड्ने ? पार्टी भित्र कति डरलाग्दो अवसरवाद प्रवेश भएछ ।’ उहाँले पूर्व एमाले एक ठाउँमा हुनुपर्छ भन्दै केही व्यक्तिहरु हिडिरहेको भन्दै उहाँले प्रधानमन्त्री केपी ओली एमालेको नेता हो कि नेकपाको भन्ने प्रश्न पनि गर्नुभएको छ । केही वर्षअघि विराटनगर गोबर ग्यास प्लान्ट उद्घाटन गरेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीले कहिले घर–घरमा ग्यास वितरण गर्ने भनेर पनि झाक्रीले प्रश्न गर्नुभएको छ ।
नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले ओलीको प्रतिगामी कदमले मुलुकलाई पछि धकेलेको बताउनुभयो । नेकपा प्रदेश सदस्य कुशल लिम्बूले ओली आन्दोलनबाट फ्याँकिने दाबी गर्नुभयो । नेकपा मोरङ सचिव गणेश उप्रेतीले आन्दोलनबाट ओलीको कदमको विरोध गर्दै जनतासमक्ष जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा मृत्युञ्जय झा, अनेरास्ववियु मोरङ अध्यक्ष टेकेन क्षत्री, केन्द्रीय सदस्य ताजिम अन्सारी केन्द्रीय सदस्य जिसस न्यौपाने, अनेरास्ववियु मोरङका सह इन्चार्ज सुमन कालीकोटे लगायतले संविधानसभा विघटन संविधान विपरित भएको भन्दै आन्दोलनमा उत्रिन आव्हान गर्नुभयो । अनेरास्ववियुले एकता प्रक्रिया टुंग्याउँदै २३१ सदस्यीय जिल्ला कमिटी, सबै आंगिक क्याम्पस कमिटीहरुलाई पूर्णता दिएर आइतबार नै सपथग्रहण पनि सम्पन्न गरेको जनाएको छ ।
सबै सदस्य र पदाधिकारीहरुलाई अनेरास्ववियुकी पूर्वअध्यक्षसमेत रहनुभएकी नेता झाँक्रीले शपथ गराउनुभएको थियो ।